खेलकूद

प्रदेश १ लाई प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि, एपीएफ ६ रनले पराजित

हिमालय टिभी
२०७७ पुष १९ गते १५:५७
प्रदेश १ लाई प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि, एपीएफ ६ रनले पराजित

१९ पुस २०७७ काठमाडौं । साबिक विजेता तथा विभागीय टोली एपीएफलाई हराउँदै प्रदेश १ ले प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेका छ ।

लमहीस्थित देउखुरी क्रिकेट मैदानमा आज प्रदेश १ ले बलियो प्रतिद्वन्द्वी एपीएफलाई ६ रनले हराउँदै पहिलो उपाधि जितेको हो । जितका लागि १०६ रनको लक्ष्य पाएको एपीएफले पुरै २० ओभरमा ७ विकेट गुमाए ९९ रन मात्र बनाउन सक्यो ।

दोस्रो ओभरमै ओपनर राजमती ऐरीलाई शुन्यमै गुमाएको एपीएफको पाली मध्येक्रमकी ममता चौधरीले सम्हाल्ने प्रयास गरेकी थिइन् । ३२ रन बनाउँदा ५ खेलाडीलाई गुमाइसकेको एपीएफका लागि ममता र करुणा भण्डारीले छैटौं विकेटका लागि ६४ रनको साझेदारी गर्दै जित नजिक लगे पनि अन्य खेलाडी प्रदेश एकको बलिङ्सामु टिक्न सकेनन् ।

एपीएफका लागि ममताले ३४, करुणा भण्डारीले नटआउट २६ र ज्याती पाण्डेले १४ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ प्रदेश १ की कप्तान रुविना क्षेत्री र अलिशा खडियाले समान २–२ विकेट लिइन् भने अन्तिम ओभरमा संगिता राईले एक विकेट आफ्नो नाममा लेखाईन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २० ओभर पुरै खेलेर ४ विकेटको क्षतिमा १०५ रन बनायो । प्रदेश १ का लागि ओपनर अप्सरी बेगम र कप्तान रुविना क्षेत्रीले ५८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए ।

अप्सरीले सर्वाधिक ३४ रन बनाउँदा काजल श्रेष्ठले २९ र रुविनाले १८ रन जोडिन् । बलिङतर्फ एपिएफकी कप्तान सीता राना मगरले तीन तथा करुणा भण्डारीले एक विकेट लिइन् । जितसँगै प्रदेश १ ले नगद ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

त्यस्तै उपविजेता एपिएफले तीन लाख र सेमिफाइनलमा पराजित भएका लुम्बिनी र सुदूरपश्चिम प्रदेशले समान २५(२५ हजार रुपैयाँ पाएका छन् ।

राष्ट्रिय खेलकूद परिषद् राखेपको आयोजना तथा नेपाल क्रिकेट संघ क्यानको प्रादेशिक संरचना लुम्बिनी प्रदेशको व्यवस्थापनमा भएको प्रतियोगितामा एक विभागीय टोली र सात प्रदेश गरी ८ टिमको सहभागिता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्