प्रधानमन्त्री कप महिला क्रिकेटको फाइनल प्रतिस्पर्धा आज

१९ पुस २०७७ दाङ । दाङमा जारी प्रधानमन्त्री कप ट्वेन्टी–ट्वेन्टी महिला राष्ट्रिय क्रिकेटको फाइनल खेल आज हुँदैछ ।
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधिका आज विभागीय टोली एपीएफ र प्रदेश १ भिड्दै छन् । पहिलो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै एपीएफ फाइनलमा पुगेको हो ।
उता लुम्बिनी प्रदेशमाथि १० विकेटको शानदार जित निकाल्दै प्रदेश १ ले फाइनल यात्रा तय गरेको हो । लमही क्रिकेट मैदानमा हुने फाइनल खेल विहान साढे एघार बजे शुरु हुनेछ ।
आठ टोली सहभागी प्रतियोगितालाई दुई समूहबाट विभाजित गरिएको थियो भने प्रत्येक समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुगेका थिए ।
राष्ट्रिय खेलकूद परिषद् (राखेप)को आयोजना तथा नेपाल क्रिकेट संघ (क्यान) को प्रादेशिक संरचना लुम्बिनी प्रदेशको व्यवस्थापनमा भएको प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
त्यस्तै उपविजेताले तीन लाख र सेमिफाइनलमा पराजित हुने दुई टोलीले २५(२५ हजार रुपैयाँ पाउनेछन् ।
प्रतिक्रिया