राजनीति

नेकपा प्रचण्ड–नेपाल समूहद्वारा संघर्षका कार्यक्रम सार्वजनिक (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १८ गते १६:१४
नेकपा प्रचण्ड–नेपाल समूहद्वारा संघर्षका कार्यक्रम सार्वजनिक (भिडियोसहित)

१८ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनको विरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

संसद विघटनपछि सडकमा आएको नेकपा प्रचण्ड–नेपाल पक्षले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । पत्रकार सम्मेलनमा प्रचण्ड–नेपाल सूमहका केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभालाई सुचारु नबनाउँदासम्म आन्दोलन जारी राख्ने बताउनुभयो ।

उहाँले सरकारको असंवैधानिक कदमको विरुद्धमा जनतालाई सुसूचित बनाउने र जनदबाब सिर्जना गर्नका लागि आन्दोलनका कार्यक्रम घोषणा गरिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘असंवैधानिक रुपमा विघटन गरेको प्रतिनिधि सभालाई सुचारु नबनाउँदासम्म र त्यसले सिर्जना गरेको प्रतिगमनको खतरालाई निस्तेज नपार्दासम्म जारी रहनेछ । त्यसैले यो आम जनतालाई सुसूचित गर्ने र संघर्षमा उतार्ने र व्यापक जनदबाब सृष्टि गर्ने कार्यक्रमको रुपमा आएको छ । घटनाक्रमको विकास सँगसँगै जनतालाई आन्दोलित गर्दै जुन प्रकारका संघर्षका रुपहरु हामीले दिनुपर्छ त्यो पछिल्लो दिनहरुमा दिनेछौं । तर हाम्रो आन्दोलनको कार्यक्रम पूर्ण शान्तिपूर्ण हुनेछ ।’

संयोजक श्रेष्ठले संवैधानिक अंगहरुलाई दबाबमा राखेर काम गर्ने स्थिति नहोस् भनेर खबरदारी गर्न समेत जनदबाब दिन आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएको बताउनुभयो । सरकारको हस्तक्षेप र दबाव नहोस् र संवैधानिक अंगका पदाधिकारीलाई अपमानित गर्ने स्थिति नहोस् भनेर वातावरण बनाउन चाहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो ‘संविधान अन्तरगत क्रियाशील संविधानले प्रस्ट आ–आफ्नो कार्यक्षेत्र परिभाषित गरेका संवैधानिक अंगहरुलाई कुनैपनि कोणबाट दबाबमा राखेर काम गर्ने स्थिति उत्पन्न हुन दिन चाहन्नौ । त्यसैले हाम्रो पार्टीले यो संघर्षको कार्यक्रममार्फत जनदबाबको वातावरण निर्माण गर्ने दायित्व पुरा गर्दैछौं । संविधान अन्तर्गत क्रियाशील संवैधानिक अंगहरुले स्वतन्त्र ढंगले काम गर्ने वातावरण निर्माण होस् । हस्तक्षेप र दवाव कतैबाट नहोस र संवैधानिक अंगका पदाधिकारीहरुलाई संवैधानिक अंगहरुलाई अपमानित गर्ने, अवहेलना गर्ने हाम्रो सेटिङमा काम गर्छ भनेर प्रचार गर्ने जस्ता कामहरु गर्न नपाओस । उहाँहरुले स्वतन्त्र र स्वच्छ ढंगले आफ्नो काम निर्वाह गर्न सकोस । त्यस्तो वातावरण जनताले निमार्ण गरिदिनेछ ।’

यस्तै नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग मिलेर संयुक्त आन्दोलन गर्ने प्रयास गरिए पनि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक नसकिँदा कांग्रेसले रुची नदेखाएको पनि संयोजक श्रेष्ठले बताउनुभयो । प्रतिनिधि सभा विघटन गर्ने कदम असंवैधानिक हो भन्नेमा समान धारणा रहेको तर कांग्रेसले केन्द्रीय कमिटीले निर्णय नगरेका कारण संयुक्त संघर्षका कार्यक्रम घोषणा गर्ने स्थिति नरहेको बताउनुभयो । तर सबै पार्टीले आ–आफ्नो ढंगले कार्यक्रम जारी राख्ने पनि बताउनुभयो ।

आन्दोलनका कार्यक्रमहरु
१. २०७७ पुस २० गते सम्म पालिका स्तरमा र २५ गते सम्म वडा स्तरमा पार्टी भेला, संघर्ष सम्बन्धी अभिमुखीकरण कार्यक्रम ।
२. २०७७ पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडा स्तरमा संघर्ष समिति गठन ।
३. २०७७ पुस २१ गते संघीय राजधानी र विभिन्न शहरी केन्द्रहरुमा राजनीतिक पार्टीहरुसँग अन्तरक्रिया कार्यक्रम ।
४. २०७७ पुस २३ गते नागरिक समाजसँग व्यापक अन्तरक्रिया कार्यक्रम ।
५. २०७७ पुस २४ गते सबै जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र । विरोधपत्रको साथमा संविधानको पुस्तक दिने र राष्ट्रको नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने ।
६. २०७७ पुस २६ गते सडक संविधान वाचन–व्याख्या कार्यक्रम ।
७. २०७७ पुस २७ गते (सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १), २८ गते (प्रदेश२, गण्डकी र कर्णालीमा) र पुस २९ गते बागमतीमा बृहद कार्यकर्ता भेला तथा संघर्ष अभिमुखिकरण कार्यक्रम ।
८. २०७७ पुस २८ गते देशव्यापी घरघरमा पर्चा वितरण र गाउँगाउँ, टोलटोलमा कालोझण्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदम विरुद्ध सबै वडाहरुमा व्यानर राख्ने कार्यक्रम ।
९. २०७७ पुस २९ गते निर्वाचन क्षेत्र स्तरीय कार्यकर्ता भेला ।
१०. २०७७ पुस ३० गते देशव्यापी सबै वडाहरुमा विरोध प्रदर्शन र सभा ।
११. २०७७ माघ ५ गते सबै पालिकाहरुमा विरोध प्रदर्शन र सभा ।
१२. २०७७ माघ १० गते राजधानी लगायत सबै शहरी केन्द्रहरुमा मोटरसाइकल र्‍याली ।
१३. २०७७ माघ १६ गते पाँचवटा प्रदेश (प्रदेश नं. १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा) मा विरोध प्रदर्शन र सभा । माघ १७ गते प्रदेश नं. २ मा विरोध प्रदर्शन र सभा ।
१४. २०७७ माघ २२ गते वडा तहमा देशव्यापी मसाल जुलुस ।
१५. २०७७ माघ २३ गते राजधानीमा विरोध प्रदर्शन र सभा ।
१६. यस बीचमा उद्योग व्यवसायीहरुसँग अन्तरक्रिया कार्यक्रम र लेखक–कलाकारहरु, सांस्कृतिककर्मीहरु र बुद्धिजीवीहरुको विशिष्ट प्रकारको कार्यक्रमहरु आयोजना गरिने ।
१७. यसबीचमा दोस्रो चरणको कार्यक्रमको शुरु देखि नै स्थानीय पार्टी र जनवर्गीय संगठनहरुले सिर्जनात्मकरुपले कार्यक्रमलाई निरन्तरता दिने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्