विभागीय टोली एपीएफ प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको फाइनल प्रवेश
१८ पुस २०७७ काठमाडौं । विभागीय टोली एपीएफ दाङमा जारी प्रधानमन्त्री कप ट्वेन्टी–ट्वेन्टी महिला राष्ट्रिय क्रिकेटको फाइनलमा पुगेको छ ।
दाङको लमहीमा पहिलो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै एपीएफले उपाधि भिडन्त पक्का गरेको हो ।
६१ रनको लक्ष्य एपीएफले ६ बल अगावै मात्र एक विकेट गुमाएर भेट्टाएको थियो । एपीएफकी ज्योति पाण्डे २६ र सरिता मगर १९ रनमा अविजित रहे । कप्तान सीता राना मगरले ७ रन बनाइन् । बलिङमा सुदूरपश्चिमकी कविता कुँवरले एक विकेट लिइन् ।
यसअघि लमही क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमले निर्धारित १६ ओभरमा ७ विकेट गुमाएर ६० रन बनाएको थियो । सुदूरपश्चिमकी कविता जोशी २२ रनमा अविजित रहिन् ।
रेवती धामीले १२ तथा कविता कुँवरले ९ रन जोडे । एपीएफकी करुणा भण्डारीले ३ विकेट लिइन् । खराब मौसमका कारण केही ढिलो शुरु भएपछि खेल ४ ओभर घटाइएको थियो । एपीएफ समूह ए को विजेता टोली हो भने सुदूरपश्चिम समूह बी को उपविजेता ।
यस्तै दोस्रो सेमिफाइनलमा प्रदेश १ र लुम्बिनी प्रदेश भिडदैछन् । प्रदेश १ समूह बी को विजेता र लुम्बिनी समूह ए को उपविजेता हुन् । आठ टोली सहभागी प्रतियोगितामा दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाएका हुन् ।
प्रतिक्रिया