खेलकूद

न पैसा न प्रतियोगिता : के भन्छन् नेपाली महिला क्रिकेटर ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १५ गते १७:५३
न पैसा न प्रतियोगिता : के भन्छन् नेपाली महिला क्रिकेटर ? (भिडियोसहित)

१५ पुस २०७७ दाङ । कोरोना महामारीका कारण सुस्ताएको नेपाली क्रिकेट गतिविधि चलायमान बन्न थालेको छ । केही दिनअघि चितवनमा गौतमबुद्ध कप च्यारिटी क्रिकेट प्रतियोगिता सम्पन्न भयो ।

दाङमा चलिरहेको प्रधानमन्त्री कप महिला क्रिकेटले नेपाली खेलकूद चलायमान बनाउन सहयोग गरेको छ । तर, हतारहतार आयोजना भएको यो प्रतियोगिता कति सुरक्षित र कति सफल हुन्छ भन्नेमा शंका कायमै छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको प्रतिबन्ध र त्यसपछि विश्वले सामना गरेको कोरोना महामारीका कारण नेपाली खेलकूद गतिविधि नै ठप्प भए । क्रिकेटसँगै फूटबलका ठूला प्रतियोगिताहरु पनि स्थगित भए । करिब १० महिनाको अन्तरालपछि क्रिकेटको राष्ट्रिय प्रतियोगिता शुरु भएको छ ।

दाङमा प्रदेशस्तरीय महिला क्रिकेट प्रतियोगिता शुरु भएको छ । महामारीका कारण मैदानमा उत्रिन नपाएका खेलाडीलाई यो प्रतियोगिताले राहत दिएको छ । तर, छोटो समयको तयारीपछि प्रतियोगिता आयोजना गर्नुपर्दा खेलाडी त्यति सन्तुष्ट छैनन् ।
विभिन्न समस्यासँगै मैदानमा आएका महिला खेलाडीलाई खेल क्षेत्रमा आउन त्यति सजिलो छैन । आर्थिक रुपले खेलाडीहरु सबल छैनन् । त्यसमाथि घरपरिवारबाट पनि सोचेअनुरुप सहयोग छैन ।

प्रतियोगिता आयोजनाको जिम्मा पाएको जिल्ला क्रिकेट संघ दाङले तयारीका लागि पर्याप्त समय पाएन । मोफसलले पाउने न्यूनतम बजेटका कारण व्यवस्थापन पनि सोचे अनुरुप हुन सकेन ।

दाङमा दुईवटा क्रिकेट मैदान छन् । तर, दुबै मैदानमा स्तरीय संरचना छैनन् । काम शुरु भएको लामो समय भइसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । यी दुई मैदानको काम छिटो सम्पन्न भए, अन्य राष्ट्रिय प्रतियोगिता संचालन गर्न सकिने थियो । यो कुरा त्यहाँका जनप्रतिनिधिलाई पनि राम्रोसँग थाहा छ ।

यसमा सम्बन्धित निकायले चासो दिने हो भने खेल संरचनामा समस्या नहुने र धेरै भन्दा धेरै खेल आयोजना भएपछि खेलाडीहरुमा पनि उत्साह बढेर जाने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्