खेलकूद

एएफसी लाइसेन्स पाए पनि फूटबल व्यावसायिक बनाउन आर्मी क्लबलाई चुनौती (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १३ गते २०:५१
एएफसी लाइसेन्स पाए पनि फूटबल व्यावसायिक बनाउन आर्मी क्लबलाई चुनौती (भिडियोसहित)

१३ पुस २०७७ काठमाडौं । घरेलु फुटबलको शीर्ष डिभिजन खेल्दै आएको विभागीय टोलीले त्रिभुवन आर्मी फूटबल क्लबले एसियाली फूटबल महासंघ एएफसीबाट केही दिन अगाडि मात्र क्लब लाइसेन्स प्राप्त गर्‍यो । अन्तिम समयमा एएफसीको सबै मापदण्ड पूरा गर्दै क्लबको मान्यता पाँएसँगै आर्मीले एएफसीका प्रतियोगितामा प्रतिनिधित्व गर्न पाउने भएको छ । एएफसी क्लब लाइसेन्स पाएको नेपालको एक मात्र क्लब आर्मीका लागि अब पाएको मान्यतालाई जोगाउन के कस्तो तयारी र स्तर आवश्यक हुन्छ त ?

एक समय नेपाल दक्षिण एसियाली फूटबलको पावर हाउस थियो । तर पछिल्लो समय भने आन्तरिक र व्यवस्थापकीय कमजोरीका कारण नेपाली फूटबलको स्तर खस्किएको छ । एएफसीका प्रतियोगितामा बलियो चुनौति दिँदा दर्शकको वाहवाही बटुल्ने नेपाली क्लबले पछिल्ला केही संस्करण प्रतिनिधित्व गर्न सकेनन् ।

अहिलेसम्म नेपालका ५ वटा क्लबले मात्र एएफसीका प्रतियोगिता खेलेका छन् । पछिल्लो समय एन्फाको गैर जिम्मेवारीका कारण एएफसी कप २०१७ को दोस्रो चरणमा थ्री स्टार क्लबले भाग लिन पाएन । क्लबलाई व्यवस्थित र व्यवसायिक बनाउने योजना अनुसार एएफसीले सन् २०१६ मा क्लब लाइसेन्स शुरु गर्दै सन् २०१८ देखि अनिवार्य रूपमा यसलाई लागू गर्ने नियम बनाएको थियो ।

प्रतियोगिता खेल्न सन् २०१६ देखि दुई वर्ष केही लचिलो भएको एएफसीले सन् २०१८ देखि भने लाईसेन्स अनिवार्य गर्‍यो । यस्तोमा ए डिभिजन लिगबाट घटुवा भएको सरस्वती युथ क्लबबाहेक सबै १३ वटै क्लबले एएफसी लाइसेन्सका लागि प्रक्रिया अघि बढाए पनि मापदण्ड पूरा गर्न नसक्दा लाइसेन्स पाउन सकेनन् ।

तर क्लबको विधान र आवश्यक कागजी प्रक्रिया परिवर्तन गरेर त्रिभुवन आर्मी क्लबको नामबाट लिग खेलिरहेको विभागीय क्लबको नाम परिवर्तन गर्दै त्रिभुवन आर्मी फूटबल क्लबका नाममा राष्ट्रिय खेलकूद परिषदमा दर्ता गरायो । यससँगै एएफसीको मान्यता पाउँदै उसका प्रतियोगितामा खेल्न आर्मी क्लबलाई बाटो खुलेको छ ।

नेपालकै एक मात्र लाइसेन्स प्राप्त आर्मीलाई अवसरसँगै जिम्मेवारी पनि थपिएको छ । सहिद स्मारक ए डिभिजन लिगको उपविजेता आर्मीका लागि घरेलु फूटबलमा बनाएको साख अन्तर्राष्ट्रियस्तरका क्लबसँगको प्रतिस्पर्धामा कायम राख्न चुनौती पनि छ । तर आर्मीको लागि अन्तर्राष्ट्रिय प्रतियोगिता चुनौती नहुने फूटबलका विष्लेशक सञ्जीव मिश्रको बुझाई छ ।

त्यसो त राष्ट्रिय टोलीका थुप्रै अनुहार रहेको विभागीय टोलीलाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताको अनुभव बटुलिसकेका खेलाडीको साथ छ। जुन आर्मीको बलियो पक्ष हो । त्यस्तै, खेलाडीको सेवा सुविधा, प्रशिक्षण तथा खेल मैदान लगायतका अन्य पूर्वाधारको अधिकतम उपायोग गर्दै तयारीमा जुट्नु आर्मीका लागि अबको आवश्यकता हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्