आर्थिक

जाडोसँगै विद्युतको खपत बढ्यो, भारतबाट ५९४ मेगावाट आयात (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १३ गते १५:२१
जाडोसँगै विद्युतको खपत बढ्यो, भारतबाट ५९४ मेगावाट आयात (भिडियोसहित)

१३ पुस २०७७ काठमाडौं । जाडो बढेसँगै पिक आवरमा विद्युतको खपत वर्षभरीकै उच्च अवस्थामा पुगेको छ । गत वर्षको तुलनामा यो वर्ष विद्युत माग मात्र बढेको छैन्, माग उच्च भएकै कारण भारतबाट आयात गरिने विद्युतको परिमाणसमेत बढेको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार जाडोयाम शुरु भएसँगै विद्युतको माग उच्च भएको छ । हिउँदमा हिटर, एसीलगायतका जाडो छल्ने विद्युतीय साधनको प्रयोग बढेसँगै विद्युतको मागसमेत बढेको हो । अहिले देशभर २ करोड ५१ लाख युनिट अर्थात १४ सय ३० मेगावट विद्युतको माग छ । यो यो वर्षकै सबैभन्दा उच्च माग हो ।

पोहोरको दाँजोमा यो वर्ष ९० मेगावाटले माग बढेको छ । पोहोरको यसै समयमा २ करोड ३२ लाख युनिट अर्थात १३ सय ४० मेगावाट माग थियो । माग उच्च भए पनि त्यसको तुलनामा स्वदेशी उत्पादन भने बढ्न सकेको छैन् ।

नेपालको कूल जडित विद्युत उत्पादन क्षमता १ हजार ३ सय मेगावाट हो । तर हिउँद लागेपछि उत्पादन झन्डै आधाले घटेको छ । अहिले प्राधिकरण अन्तर्गतका आयोजनाबाट ५ सय १६ र निजी क्षेत्रबाट ३ सय २० गरी ८ सय ३६ मेगावट मात्र विद्युत उत्पादन भइरहेको छ । स्वदेशी उत्पादनले नधानेपछि प्राधिकरणले भारतबाट ५ सय ९४ मेगावट विद्युत आयात गरेर माग धानिरहेको छ ।

बर्सेनि माग बढ्दै गए पनि त्यसको दाँजोमा उत्पादन बढेको छैन । सोलुखुम्बु लगायतका केही ठाउँमा प्रशारण लाइन नबनेका कारण उत्पादन भएको बिजुली खेर गइरहेको छ । त्यसैले माग बढेसँगै आयातको परिमाण उकालो लाग्दै गएको छ ।

गत वर्षको यसै समयमा भारतबाट ३ सय ६० मेगावाट मात्रै विद्युत आयात गरिएको थियो । तर यो वर्ष आयातको परिमाण २ सय ३४ मेगावटले बढेको हो ।

वर्खा याममा मागकै हारहारीमा स्वदेशमै विद्युत उत्पादन भए पनि हिउँदमा आयात गर्नैपर्ने बाध्यता छ । तर प्राधिकरणले निर्माणाधिन आयोजनाको गति बढाउने र अनावश्यक उपभोग निरुत्साहन गर्ने हो भने विद्युत आयात केहि घटाउन सकिने थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *