समाज

भेरी अस्पतालमा ९० बेडकाे नयाँ वार्ड, काेराेनाका विरामीकाे उपचार सहज (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष ११ गते २०:५३
भेरी अस्पतालमा ९० बेडकाे नयाँ वार्ड, काेराेनाका विरामीकाे उपचार सहज (भिडियोसहित)

११ पुस २०७७ बाँके । नेपालगन्जको भेरी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि थप ९० बेडको नयाँ वार्ड निर्माण गरिएको छ । नयाँ वार्ड थपिएपछि भेरी अस्पतालमा संक्रमितको उपचारका लागि सहज भएको छ । अक्सिजन ग्यासको व्यवस्थासहित अब भेरी अस्पतालमा कोरोना संक्रमितका लागि १ सय ६२ बेडको व्यवस्था भएको छ ।

कोराना संक्रमितको उपचारका लागि सरकारको मात्रै मुख ताकेर नहुने अवस्था देखिएपछि भेरी अस्पतालका पूर्व प्रमुख वरिष्ठ चिकित्सक डाक्टर श्याम सुन्दर यादव नेतृत्वमा जिल्ला समन्वय समिति र बाँकेका स्थानीय तहबाट १ करोड रुपैयाँ संकलन गरेर नयाँ वार्ड निर्माण गरिएको हो ।

कोरोनाको संक्रमण शुरु भएपछि भदौको पहिलो हप्ता भेरी अस्पतालमा ७२ बेडको कोरोना वार्ड सञ्चालनमा ल्याइएको थियो । तर पछि कोरोना संक्रमितले अस्पतालका बेड भरिन थाले । ठाउँको अभाव भयो । त्यसैले अस्पताल भवनको छतमा थप संरचना निर्माण गरेर संक्रमितको उपचार गर्न थालियो । बेड थप गरिएपछि संक्रमितका लागि बेड अभाव हटेको छ । बाँकेका अस्पतालमा बुटवलदेखि महेन्द्रनगरसम्मका संक्रमित उपचारका लागि आउने गरेका छन् ।

उनीहरुले सहजै बेडका साथै उपचारका लागि आवश्यक पर्ने प्लाज्मा थेपारी पनि पाउँदै आएका छन । नयाँ निर्माण गरिएको कोरोना वार्डका सबै बेडमा अक्सिजन सप्लाईका लागि पाइप लाइनको व्यवस्था गरिएको छ ।

भेरी अस्पतालको ७२ बेड क्षमताको कोरोना वार्डमा ५० जना संक्रमितको उपचार भइरहेको छ । तीमध्ये करिब १० देखि २० प्रतिशत सिकिस्त छन् । उनीहरुलाई हाई फ्लो नोजल क्यानलाबाट अक्सिजन दिनुका साथै भेन्टिलेटरको सपोर्ट दिएर उपचार गर्ने गरिएको छ । भेरी अस्पतालमा पाएको उपचारबाट सबै खुसी छन् ।

अहिले परीक्षण दर घटेका कारण संक्रमितको संख्या पनि कम छ । त्यसैले अस्पतालमा त्यति धेरै संक्रमित छैनन् । तर संक्रमणको दोस्रो लहर आउने जोखिम भने कायमै छ । नेपालगञ्जको भेरी अस्पतालले त्यसका लागि गरेको तयारी प्रसंशनीय छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *