आर्थिक

साैराहामा घुम्न निम्ता गर्दै पर्यटन व्यवसायी देश दाैडाहामा (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष ११ गते २०:३१
साैराहामा घुम्न निम्ता गर्दै पर्यटन व्यवसायी देश दाैडाहामा (भिडियोसहित)

११ पुस २०७७ चितवन । चितवनको सौराहा नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो । सौराहमा बाह्रै महिना आन्तरिकसँगै बाह्य पर्यटक भरिभराउ हुन्छन । तर कोरोनाको महामारीसँगै भएको लकडाउनले सौराहाको पर्यटन क्षेत्रलाई ठुलो क्षति गरेको छ । लकडाउनले थला पारेको पर्यटनलाई पूर्ववत् फर्काउन सौराहाका व्यवसायी आन्तरिक पर्यटकलाई निम्ता गर्दै देश दौडाहामा छन् ।

कोरोनाको महामारीपछि गत चैतदेखि पर्यटन क्षेत्र ठप्प छ । विदेशी पर्यटकको आगमन शून्य बराबर छ । ठूला होटल पूर्ण रुपमा बन्द छन् । तर, पछिल्लो समय सौराहाका पर्यटन व्यवसायीले थला परेको पर्यटनलाई उठाउनका आन्तरिक पर्यटनलाई जोड दिएका छन् । उनीहरुले आन्तरिक पर्यटकलाई लक्षित गरी सबै प्रदेशमा ‘घुमौं सौराहा’ अभियान शुरु गरेका छन ।

क्षेत्रीय होटल संघ चितवनको टोलीले प्रदेश एकको विराटनगरमा कार्यक्रम गरी सौराहा घुम्न आह्वान गरेको छ । गएको असोजदेखि चितवनका होटलहरु खुल्न थालेका छन् । ‘घुमौं सौराहा’ अभियानअन्तर्गतको प्याकेजमा आन्तरिक पर्यटकलाई चितवनमा घुमाएर सौराहामा नाइट–स्टे गराउने र सौराहाका सबै पर्यटकीय स्थलको भ्रमण गराउने रहेको छ ।

अब सौराहा सुरक्षित छ भन्ने सन्देश अभियानले प्रवाह गरिरहेको छ । सौराहा घुम्न आउने पर्यटकका लागि २० देखि ४० प्रतिशतसम्म होटल तथा रेष्टुरेष्टहरुमा छुटको घोषणा समेत गरेका छन् ।

लकडाउनका कारण सौराहाले दैनिक ५० लाख रुपैँया आर्थिक क्षति व्यहोर्नुपरेको थियो । पर्यटन व्यवसायीले कोरोनाका कारण ठुलो आर्थिक क्षति व्याहोरेसँगै पर्यटन क्षेत्रमा भएको नोक्सानीलाई उकास्न स्थानीय सरकारले पनि व्यावसायीको घुमौं सौराहा अभियानमा साथ दिएका छन ।

कोरोनाका कारण शून्यमा झरेको आन्तरिक पर्यटन ‘घुमौं सौराहा’ अभियानले होटलको अकुपेन्सी ३५ देखि ४० प्रतिशत पुग्ने व्यवसायीको विश्वास छ । योसँगै लकडाउन हटेपछि विस्तारै उठ्न थालेको पर्यटन क्षेत्र अझै पूर्णरुपमा तंग्रिने आशा पनि उनीहरुलाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *