आर्थिक

नगद छैन ? अब यसरी पाइन्छ तरकारी

हिमालय टिभी
२०७७ पुष १० गते २०:३४
नगद छैन ? अब यसरी पाइन्छ तरकारी

१० पुस २०७७ काठमाडौं । के तपाई काठमाडौँको नक्सालस्थित तरकारी तथा फलपूmल बजारमा तरकारी तथा दैनिक उपभोग्य सामग्री खरिद गर्न जाँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईले अब पैसा नबोकिनकनै गए पनि हुन्छ । पैसा बोक्दा चोरी हुने, हराउने तथा खुद्रा नभएर तपाईलाई कुनै समस्या पर्ने छैन किनकी केन्द्रीय बैंकले सो तरकारी बजारमा अब क्यूआर कोडमार्फत भुक्तानी हुने व्यवस्था मिलाएको छ ।

तरकारी खरिद गर्न जाँदा अब तपाईले मोबाइल मात्रै बोकेर गए हुन्छ । नेपाल राष्ट्र बैंकले अब आम सर्वसाधारणलाई सहज रुपमा भुक्तानी गर्ने व्यवस्था मिलाउँदै क्विक रेस्पोन्स (क्यूआर)मार्फत भुक्तानी गरे हुने व्यवस्था मिलाएको छ । नक्सालस्थित तरकारी तथा फलफूल बजारमा नेपाल राष्ट्र बैंकले नगदरहित कारोबार शुरु गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले उक्त बजारमा क्यूआर कोड भुक्तानीमार्फत तरकारी खरिद गरी यसको शुभारम्भ गर्नुभयो ।

गभर्नर अधिकारीले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिअनुरूप देशव्यापी अभियानको रूपमा अगाडि बढाइने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नक्साल तरकारी बजारमा थालिएको क्यूआर कोडको अभ्यास प्रविधिमैत्री कारोबारमा एउटा उत्साहजनक शुरुआत हो । अब यसलाई देशभर अभियानका रूपमा विस्तार गर्ने योजना राष्ट्र बैंकले बनाएको छ ।”

समग्र अर्थतन्त्रलाई प्रविधिमैत्री तुल्याउने सन्दर्भमा क्यूआर कोडको प्रवद्र्धनले ठूलो योगदान पु-याउने विश्वास गभर्नर अधिकारीले व्यक्त गर्नुभयो । “यो प्रविधिको प्रयोगले नगदरहित कारोबारलाई प्रोत्साहन त गर्छ नै, मुलुकको आर्थिक र सामाजिक रूपान्तरणमा समेत ठूलो योगदान पु¥याउनेछ”, उहाँले भन्नुभयो ।

क्यूआर कोड भुक्तानीलाई देशव्यापी अभियानको रूपमा विस्तार गर्ने तयारीमा केन्द्रीय बैंक जुटेको छ । गभर्नर अधिकारीले क्विक रेस्पोन्स (क्यूआर) मार्फत हुने भुक्तानीलाई देशव्यापी अभियानको रूपमा विस्तार गरिने बताउनुभयो । गभर्नर अधिकारीले क्यूआर भुक्तानीमार्फत हुने भुक्तानी कारोबार उत्साहजनक रूपमा विस्तार भइरहेको जानकारी दिँदै कोरोनाको कहरपछि विद्युतीय कारोबारमा वृद्धि भएको जानकारी दिनुभयो ।

पछिल्लो समय हरेक महिना ३० प्रतिशतले यस्तो कारोबार वृद्धि भइरहेको जानकारी उहाँले दिनुभयो । क्यूआर कोड कारोबारको प्रवद्र्धन र विस्तारको निम्ति सहजीकरण गर्न राष्ट्र बैंक तयार रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले त्यसको निम्ति अग्रसर रहन बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, व्यवसायीलगायत सरोकारवालाई आग्रहसमेत गर्नुभयो ।

सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत एवं नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवनकुमार दाहालले नक्साल तरकारी बजारमा क्यूआर कोड कारोबारको शुरुआतले थप हौसला मिलेको प्रतिक्रिया दिनुभयो । उहाँले देशभर ‘डिजिटल नेपाल’को प्रवद्र्धनमा राष्ट्र बैंकसँग सहकार्य गरेर अगाडि बढ्न वित्तीय क्षेत्र तयार रहेको बताउनुभयो । नक्साल तरकारी तथा फलफूल व्यवस्थापन समितिका अध्यक्ष विष्णु सापकोटा क्यूआर कोडको थालनीसँगै तरकारी बजार प्रविधिमैत्री वातावारणमा प्रवेश गरेको बताउनुहुन्छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू भुवन कँडेल, देवकुमार ढकाल, मुकुन्दकुमार क्षेत्री, डा गुणाकर भट्ट, बमबहादुर मिश्र, निर्देशक रोशनकुमार सिग्देललगायतको उपस्थिति थियो । सानिमा बैंक र नक्साल तरकारी तथा फलफूल व्यवस्थापन समितिको सहकार्यमा नक्सालस्थित तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानीमार्फत भुक्तानी कारोबारको शुरुआत गरिएको हो ।

बजारका ७५ स्टलमध्ये अधिकांश स्टलमा क्यूआर कोड सञ्चालनमा आएको जनाइएको छ । राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागको तथ्याङ्कअनुसार गत कात्तिक मसान्तसम्म क्यूआर कोडमार्फत रु दुई लाख ४१ हजार ८१८ कारोबारहरू भएका छन् । क्यूआर भुक्तानीमार्फत हुने भुक्तानी कारोबार पछिल्लो समय लोकप्रिय बन्दै गएको छ ।

चीन, भारत, अमेरिका, युरोप तथा जापानलगायत देशमा अधिकांश कारोबार क्यूआर कोडमार्फत हुने गरेको छ । सुरक्षित कारोबारका लागि महत्वपूर्ण मानिएको उक्त प्रणालीको प्रवद्र्धनमा नेपाल राष्ट्र बैंकले सकारात्मक हस्तक्षेप गर्दै प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *