शेयर कारोवारमा दलालले लिने कमिशन ६० प्रतिशतसम्म घट्यो
१० पुस २०७७ काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर कारोबारमा शेयर दलालले लिने कमिशन रकम ६० प्रतिशतसम्म घटाएको छ ।
बोर्डले आइतबारदेखि लागू हुनेगरी ६० प्रतिशतसम्म ब्रोकर कमिशन घटाएको छ । पछिल्लो समय धितोपत्र बजारमा ८५ प्रतिशत कारोवार अनलाइनमार्फत हुने गरेको र ब्रोकरको काम घटेको भन्दै कमिशन घटाएको हो ।
नयाँ व्यवस्था अनुसार ५० हजारसम्मको शेयर कारोवारमा अब शुन्य दशमलव चार शुन्य प्रतिशत कमिसन तिर्नु पर्ने छ । ५० हजारदेखि ५ लाखसम्मको कारोवारमा शुन्य दशमलव ३७ प्रतिशत, ५ लाखदेखि २० लाखसम्ममा शुन्य दशमलव ३४ प्रतिशत ब्रोकर कमिशन लाग्ने छ ।
यस्तै २० लाखदेखि १ करोडसम्मको कारोबारमा शुन्य दशमलव ३० प्रतिशत र १ करोडभन्दा माथिको कारोवारमा शुन्य दशमलव २७ प्रतिशत कमिशन लाग्ने छ । यस्तै यसअघि ब्रोकरले लिने न्युनतम कमिसन २५ रुपैयाँ रहेकोमा अब त्यो घटेर १० रुपैयाँ बनाइएको छ ।
शेयर कारोवारमा दलाललाई कमिसनसहित बोर्ड र निक्षेप सदस्यलाई पनि शुल्क तिर्नुपर्छ । ब्रोकर कमिशन घटाए पनि बोर्डले आफूले लिने शुल्क र निक्षेप सदस्यले लिने शुल्कमा कुनै कटौती गरेको छैन ।
प्रतिक्रिया