समाज

अचानक बढेको शीतलहरले महोत्तरीमा जनजीवन अस्तव्यस्त (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष ८ गते ६:२७
अचानक बढेको शीतलहरले महोत्तरीमा जनजीवन अस्तव्यस्त (भिडियोसहित)

८ पुस २०७७ काठमाडौं । अचानक बढेको शितलहरले महोत्तरीमा जनजीवन अस्तव्यस्त भएको छ । विगत केही दिनदेखि चलेको चिसो हावा र बाक्लो हुस्सुले दैनिक ज्यालादारी गर्ने देखि बालबालिका र जेष्ठ नागरिकलाई अत्यधिक समस्या भएको छ ।

जनता आवास कार्यक्रम अन्तरगत विपन्न परिवारका लागि भनिएका घर बन्न ढिलाइ भएको छ । प्रदेश सांसद भने आफुहरु लागिपरेको बताउँछन् ।

तराईमा शीतलहरका कारण जनजीवन कष्टकर भएको छ । महोत्तरीमा अधिकांश ग्रामीण बस्तीमा जनता आवासकै भवन निर्माण अधुरो छन् । पक्की घरको आशामा झुपडीमा बसिरहेका विपन्न परिवार शितलहरबाट बढी मारमा परेका छन् । यसले जनता आवास कार्यक्रममै प्रश्न उठेको छ ।

महोत्तरी क्षेत्र नम्बर २ मा १ सय २५ घर निर्माणको क्रममा छ । ६५ घरमा छानो नै छैन । प्रदेश सांसद डा. रिना यादवले आफ्नो घर छेउकै बस्तीका लागि जम्मा २५ घर जनता आवास योजनामा परेकोमा दश घर थप्न लगाउनु भयो । छिट्टै काम सकिने उहाँको दाबी छ ।

हरेक वर्ष शितलहर हुने र त्यसले जनजीवन प्रभावित पार्ने निश्चित भए पनि स्थानीय, प्रदेश र संघीय सरकारले गरिब र दलितको लागि ठोस कदम चाल्न सकेका छैनन् । सरकारकै जनता आवास तथा अन्य केही कार्यक्रमले पनि समस्या सम्बोधन गर्न सकेको छैन । महोत्तरीमै २०७५ साल भन्दा अघिदेखि शुरु भएका जनता आवासकै योजना अझै अपुरो छ । तर प्रदेश सांसद कार्यक्रम राम्रो र प्रभावकारी भएको दाबी गरिरहेका छन् ।

स्थानीय सरकारले राहत भनेर केही थान कम्बल वितरण गरेर आफ्नो जिम्मेवारी पूरा भएको ठानिरहेका छन् । चिसोबाट राहत दिन सुरक्षा निकायले भने केही प्रयास गरेका छन् । सशस्त्र प्रहरी र नेपाली सेनाले सदरमुकाम र नजिकैका केही बस्ती तथा चोकमा आगो बालिरहेका छन् । जनता आवास कार्यक्रम छिटो पुरा भए मात्रै वास्तविक विपन्नलाई राहत पुग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *