इंग्लिस प्रिमियर लीगमा चेल्सी र बर्नली विजयी
७ पुस २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा चेल्सी र बर्नली विजयी भएका छन् ।
प्रिमियर लीग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई ३–० गोलले हरायो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीको जितमा टमी अब्राहमले दुई र थिएगो सिल्वाले एक गोल गरेका थिए ।
जितपछि चेल्सी तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । उसले १४ खेलबाट २५ अंक बनाएको छ । पराजित वेष्ट ह्याम भने १४ खेलबाट २१ अंक जोड्दै तालिकाको १०औं स्थानमा छ ।
लीगकै अर्को खेलमा बर्नलीले उल्भ्समाथि २–१ गोलको जित निकाल्यो । घरेलु मैदानमा बर्नलीले ३५औं मिनेटमा एस्ले बार्नेसको गोलसँगै अग्रता बनाएको थियो ।
त्यसपछि ५१औं मिनेटमा क्रिस उडले बर्नलीको अग्रता दोब्बर पारे । ८९ औं मिनेटमा उल्फ्सका फाबियो सिल्वाले पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै दूरी घटाउने प्रयास गरे ।
तर त्यसपछि खेलमा थप गोल नहुँदा बर्नली समग्रमा २(१ ले विजयी भयो । जितपछि बर्नली १३ खेलबाट १३ अंक जोड्दै १६ औं स्थानमा पुगेको छ । उता उल्भ्स १४ खेलबाट २० अंकका साथ एघारौं स्थानमा छ ।
प्रतिक्रिया