खेलकूद

नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष २ गते १९:१२
नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त (भिडियोसहित)

२ पुस २०७७ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका डेभ वाटमोर नियुक्त हुनुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले वाटमोरलाई राष्ट्रिय टोलीको प्रशिक्षक नियुक्त गरेको हो ।

वाटमोरले आगामी जनवरी १ तारिकदेखि नेपाली क्रिकेट टोलीलाई सम्हाल्नुहुने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । क्यानले नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि गत कात्तिक अन्तिम साता अन्तर्वार्ता लिएको थियो ।

श्रीलङ्कामा जन्मिनुभएका ६६ वर्षीय वाटमोर अस्ट्रेलियाका पूर्वक्रिकेट खेलाडी हुनुहुन्छ । उहाँकै प्रशिक्षणमा श्रीलङ्काले सन् १९९६ को एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो । उहाँले सन् २००३ देखि सन् २००७ सम्म बङ्गलादेशको प्रशिक्षकका रुपमा काम गर्नुभएको थियो । वाटमोरले भारतको यु–१९ क्रिकेट टोलीलाई पनि प्रशिक्षण दिनुभएको थियो । यस्तै उहाँले सन् २०१० र २०११ को याममा इण्डियन प्रिमियर लिग (आइपीएल) मा कोलकता नाइट राइडर्सलाई प्रशिक्षण दिनुभएको थियो ।

वाटमोर सन् २०१२ देखि सन् २०१४ सम्म पाकिस्तानको प्रशिक्षक बन्नुभएको थियो । यस्तै सन् २०१४ मा वाटमोरले जिम्बावेको प्रशिक्षकका रुपमा काम गर्नुभएको थियो । उहाँ सन् २०२० मा सिङ्गापुरको प्रशिक्षक बन्नुभएको थियो । वाटमोर श्रीलङ्काको कोलम्बोमा जन्मिनुभएको हो । सन् १९६२ मा उहाँको परिवार अष्ट्रेलिया बसाइ सरेको हो । वाटमोरले सन् १९८९ मा खेल जीवनबाट सन्यास लिनुभएको हो । त्यसपछि उहाँ विभिन्न देशमा प्रशिक्षकका रुपमा काम गर्दै आउनुभएको छ ।

क्यानले गत भदौमा मुख्य प्रशिक्षकका लागि खुल्ला आवेदन आह्वान गरेको थियो । मुख्य प्रशिक्षकका लागि ७२ जनाले आवेदन दिनुभएको थियो । क्यानले पहिलो चरणमा २५ जनाको नाम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) लाई पठाएको थियो । अन्तिममा १२ जनाको अन्तर्वार्ता लिएको थियो ।

गत वर्ष माघमा भारतीय प्रशिक्षक उमेश पटवालले राजीनामा दिएपछि उक्त पद रिक्त थियो । पछिल्लो समय जगत टमटाले खेलाडीलाई प्रशिक्षण दिँदै आउनुभएको छ । यस्तै क्यानले रौनकबहादुर मल्ललाई महाप्रबन्धक, रमेशकुमार न्यौपानेलाई मुख्य वित्त व्यवस्थापक तथा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान विनोद दासलाई क्रिकेट व्यवस्थापकमा नियुक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्