आर्थिक

५० हजार मेट्रिक टन मल खरिदका लागि आज नेपाल र बंगलादेशबीच सम्झौता हुँदै

हिमालय टिभी
२०७७ पुष २ गते ७:३५
५० हजार मेट्रिक टन मल खरिदका लागि आज नेपाल र बंगलादेशबीच सम्झौता हुँदै

२ पुस २०७७ काठमाडौं । ५० हजार मेट्रिक टन रासायनिक मल खरिदका लागि नेपाल र बंगलादेश सरकारबीच आज सम्झौता हुँदैछ ।

बंगलादेशको स्थानीय समयअनुसार बिहान साढे १० बजे सम्झौतापत्रमा हस्ताक्षर हुन लागेको हो । मल खरिदको सम्झौता गर्न नेपाली सरकारी टोली गत मंगलबार बङ्गलादेश गएको थियो ।

सरकारी टोलीको नेतृत्व गर्दै कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक नेत्रबहादुर भण्डारीको संयोजकत्वमा चार सदस्यीय टोली बङ्गलादेश गएको हो ।

यसअघि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर रासायनिक मल खरिद गरिएको भन्दा सस्तोमा मल नेपाल आउने अनुमान गरिएको कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार बंगलादेशको भाउमा ५० हजार मेट्रिक टन युरिया मल खरिद गरेर ल्याइनेछ ।

खरिदको अन्तिम मूल्य खरिद सम्झौता गरेपछि मात्र थाहा हुनेछ । सम्झौता गरेको २०–२२ दिनमा मल नेपाल आइपुग्ने मन्त्रालयको अनुमान छ ।

ढुवानीका लागि कम्पनीले गत असोज ३ गते आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रअनुसार संयुक्त अरब इमिरेट्स युएईको जेन्ट्रेड एफजेडएफ कम्पनी छनोट भइसकेको छ ।

पाँच कम्पनीको आवेदन परेकामा जेन्ट्रेडले सबैभन्दा कम मूल्यमा ढुवानी गर्ने प्रस्ताव गरेको थियो । गत भदौमा दुई देशका सरकार प्रमुखबिच भएको टेलिफोन कुराकानीमा पैचोमा मल ल्याउने मौखिक सहमति भएको थियो ।

बङ्गलादेश सरकारले सुरुमा पैँचोमा दिने तयारी गरे पनि पछिल्लो समय खरीद गरेर लैजानुपर्ने प्रस्ताव राखेको थियो । सापटीमा मल ल्याएर पुनः फिर्ता गर्दा मूल्यमा समस्या हुने बताउँदै बंगलादेश अनिच्छुक भएपछि पुनः खरिद गरेर ल्याउन लागिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *