खेलकूद

क्रिकेट विकासमा उदाहरणीय बन्दै दाङ, पूर्वाधार र प्रदर्शन दुबैमा फड्को (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १ गते १६:१०
क्रिकेट विकासमा उदाहरणीय बन्दै दाङ, पूर्वाधार र प्रदर्शन दुबैमा फड्को (भिडियोसहित)

१ पुस २०७७ दाङ । पछिल्लो समय दाङमा क्रिकेटको माहोल राम्रो बन्दै गइरहेको छ । केही वर्षअघिसम्म दाङमा खेल्ने मैदान नै थिएन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको प्रतिबन्ध फुकुवा र कोरोना महामारीको प्रभाव कम हुन थालेपछि अहिले भने दाङको क्रिकेटले ठूलो फड्को मारेको छ ।

दुई वर्षअघिसम्म पनि दाङमा क्रिकेट खेल्ने उचित मैदान थिएन । प्रतियोगिता आयोजना गर्नु त परैको कुरा, खेलाडी छनोट गर्नसमेत अन्य जिल्लामा जानुपर्ने अवस्था थियो । तर, युवा अध्यक्ष प्रदीप मजगैयाँ दाङ जिल्ला क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएपछि यहाँको माहोल फेरिएको छ ।

अहिले दाङको लमही र घोराहीमा गरी क्रिकेट खेल्न योग्य दुई वटा मैदान छन् । दाङमा पछिल्लो पटक तीनवटा राष्ट्रिय प्रतियोगिता पनि आयोजना भइसकेका छन् । यति मात्र होइन, प्रत्येक पालिकामा एउटा क्रिकेट मैदान बनाउने योजना पनि दाङ जिल्ला क्रिकेट संघले अघि सारेको छ ।

हालसालै संघको आफ्नै कार्यालय भवन पनि बनेको छ । कोरोना महामारीको प्रभाव कम हुन थालेपछि खेलाडी पनि मैदानमा फर्किन थालेका छन् । पुसको दोस्रो साता लमहीमा प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ । प्रादेशीक छनोट पार गर्ने लक्ष्यका साथ खेलाडी पनि उत्साहका साथ मेहनत गरिरहेका छन् ।

क्रिकेटमा भविष्य खोजिरहेका खेलाडीका लागि दाङ जिल्ला क्रिकेट संघले महत्वपूर्ण मञ्च तयार गरिदिएको छ । नियमित प्रशिक्षणको वातावरण बनेको छ । आफैँ खेल सामग्री किनेर खेल्न सक्ने अवस्था स्थानीय खेलाडीको छैन । दाङले आफ्नै सक्रियतामा खेलाडीको सुविधा र प्रशिक्षणको माहोल बनाइरहेको छ ।

नेपाली क्रिकेट विकासमा उदाहरणीय योगदान दिइरहेको दाङ जिल्ला क्रिकेट संघ विकासको दोस्रो चरणमा पुगिसकेको छ । तर, जिल्ला क्रिकेट संघको मात्र सक्रियता पर्याप्त छैन । यसमा सम्बन्धित निकायले पनि विषेश प्याकेज ल्याउनु आवस्यक छ ।

नेपाली क्रिकेटले एक दिवशीय मान्यता पाइसकेको छ । तर, यो मान्यता स्थायी होइन । नेपालको क्रिकेटलाई अझ विकसित बनाउन र माथिल्लो स्तरमा पुर्‍याउनका लागि सरकारको ठोस योजना आवस्यक छ । गाउँ गाउँमा प्रतिभावान खेलाडी छन् । खेलाडीको प्रतिभा प्रस्तुत गर्ने मञ्च खडा गरेर उनीहरुलाई उचित सुविधा दिन सकेको खण्डमा नेपाली क्रिकेट अझ माथि उठ्न सक्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्