आर्थिक

कृषिमा प्रविधि भित्रिएसँगै कृषक उत्साहित (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १ गते १६:०९
कृषिमा प्रविधि भित्रिएसँगै कृषक उत्साहित (भिडियोसहित)

१ पुस २०७७ विराटनगर । प्रदेश १ मा पछिल्लो समय कम लागतमा उत्पादन बढाउन किसानले आधुनिक कृषियन्त्र र प्रविधिको प्रयोग बढाएका छन् । आधुनिक कृषि कर्मतर्फ बढदो आकर्षणले परम्परागत रुपमा हलो जोतेर खेती गर्ने किसानमा नयाँ उत्साह देखिएको छ ।

सरकारले किसानलाई सिँचाइका लागि बोरिङ पम्पसेट, खेत जोत्ने, मकै छर्ने, धान रोप्ने र धान काट्नेजस्ता मेसिनमा अनुदान दिएपछि प्रविधिको प्रयोग बढेको छ ।

धान खेतीका लागि पकेट क्षेत्रका रुपमा चिनिने प्रदेश १ का सुनसरी, मोरङ र झापाका किसानलाई अहिले धान भित्र्याउने चटारो छ । यसपटक अधिकांश किसानले हार्भेस्टर कम्पाईन मेसिनको प्रयोग गरिरहेका छन् ।

छोटो समयमै धान थन्क्याउन सकिने र जनशक्ति पनि कम लाग्ने भएकाले किसान मेसिनतिर आकर्षित भएका छन्।

सुनसरीका अधिकांश किसानले यसपटक वीरगञ्जबाट हार्भेस्टर कम्पाइन मेसिन मगाएर धान काटिरहेका छन् । मेसिनबाट धान काट्न कृषकले प्रतिघण्टा ५ हजार रुपैयाँ तिर्नुपर्छ ।

धान चुट्ने थ्रेसर, मकै छोडाउने कर्न सेलर, बोरिङ पम्पसेट, खेत जोत्ने हाते ट्रयाक्टर, मकै छोडाउने मेसिन तथा तरकारी बालीतर्फ आरा, करौंती, सिकेचर र हजारी लगायतका उपकरणको प्रयोग बढदो छ । यान्त्रिकरणसँगै उत्पादन पनि बढेको छ ।

प्रदेश १ मा यसबर्ष ३ लाख ३२ हजार ९ सय १७ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको थियो । जसमध्ये यस वर्ष झापामा ८५ हजार ७ सय ५०, मोरङमा ८० हजार ८ सय १ र सुनसरीमा ५३ हजार ९ सय हेक्टरमा धान खेती भएको छ । युवाको पलायनका कारण जनशक्ति अभाव भइरहँदा कृषि क्षेत्रमा बढ्दो यान्त्रीकरणले केही आशाको संचार गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *