अमेरिकामा कोरोनाविरुद्ध मोडेर्ना खोपलाई पनि आपतकालीन प्रयोग गर्न बाटो खुल्यो

१ पुस २०७७ न्युयोर्क । अमेरिकामा कोरोना भाइरसविरुद्धको मोडेर्नाको खोपको पनि आपतकालीन प्रयोगको लागि बाटो खुलेको छ ।
अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)ले मोडेर्नाको खोप ९४ प्रतिशत सुरक्षित भएको जनाएको छ । यससँगै मोडेर्नाको खोप प्रयोगका लागि बाटो खुलेको एफडीएका विशेषज्ञले बताएका छन् ।
यसबारे छलफल गर्न विज्ञहरु सम्मिलित बैठक बस्दैछ । खोपलाई आपत्कालिन प्रयोगका लागि अनुमतिका लागि विज्ञको बैठक बस्न लागेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
अनुमति पाएको २४ घण्टाभित्र खोप वितरण हुने मोडेर्नाको भनाइ छ । अमेरिकामा गएको सोमबारदेखि फाइजर र बायोएनटेक कम्पनीले बनाएका कोरोनाको खोप लगाउने अभियान शुरु भइसकेको छ ।
पछिल्लो समय युरोप र अमेरिकामा तीव्र फैलिरहेको कोरोनाको संक्रमण नियन्त्रणका लागि एकभन्दा बढी खोपहरु सफल हुन आवश्यक रहेको विज्ञहरुले पनि बताउँदै आएका छन् ।
यसैबीच, युरोपका केही देशमा क्रिसमसको समयमा प्रतिबन्धात्मक नियम लागू गरिएका छन् । जर्मनीमा आजदेखि लकडाउन हुने भएको छ ।
त्यस्तै बेलायतमा पनि आजदेखि लकडाउन लागू हुनेछ भने फ्रान्समा रातको समयमा जारी कर्फ्यू नहट्ने भएको छ ।
प्रतिक्रिया