समाज

सप्तरीमा जङ्गली हात्तीको आतङ्क, रातभर जागराम बस्नुपर्ने स्थानीयको बाध्यता

हिमालय टिभी
२०७७ पुष १ गते ६:१७
सप्तरीमा जङ्गली हात्तीको आतङ्क, रातभर जागराम बस्नुपर्ने स्थानीयको बाध्यता

१ पुस २०७७ सप्तरी । कोशी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक निस्किने जङ्गली हात्तीका कारण चिसो मौसममा पनि सप्तरीका उत्तरी क्षेत्रका बासिन्दालाई जागराम बस्नुपर्ने चिन्ताले पिरोलिएको छ ।

जङ्गलबाट अहारको खोजीमा निस्किएर बस्ती आउने हात्तीको समूहले आक्रमण गर्ने, घरबार तोडफोड र क्षति गर्ने गरेको हुँदा उनीहरूलाई हात्ती आतङ्कबाट बच्न जागराम बस्नुपर्ने चिन्ताले पिरोलिएको हो ।

पछिलोपटक सोमबार सप्तरीको सुरुङ्गा नगरपालिकास्थित दौलतपुरमा जङ्गली हात्तीको आक्रमणमा परी एक जना वृद्धको मृत्यु भएको थियो । जिल्लाको सुरुङ्गा नगरपालिका–३ दौलतपुरमा राति उठेर पिसाब फेर्न घरबाहिर निस्केका बेला जङ्गलबाट निस्केको दुई वटा हात्तीले एक्कासि लखेटेपछि भाग्ने क्रममा स्थानीयवासी ७० वर्षीय सीताराम साहको लडेर मृत्यु भएको थियो ।

लडेर अचेत अवस्थामा भेटिएका उनको सिरहास्थित सप्तऋषि अस्पताल लहानमा उपचारका क्रममा मृत्यु भएको थियो । केही दिनयता कोशी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक निस्केका जङ्गली हात्तीको कारण जिल्लाको सुरुङ्गा, रुपनी, शम्भुनाथ, कञ्चनपुर, रुपनगर र वेरवासहित विभिन्न ठाउँका मानिस रातिको समयमा जागराम बस्नुपरेको वीरेन्द्र बजारका बृजमान तामाङले बताउनुभयो ।

हात्तीले दैनिक आतङ्क मचाउँदै आएका अवस्थामा कुन बेला हाम्रोतिर अउने हो भन्दै रातको समयमा जागेर बस्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । त्यस्तै सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुरमा विगत केही दिनदेखि हात्ती आतङ्क बढेको छ । राति करिब १२ बजेको समयमा तीन वटा हातीको समूहले पाँच जनाको घरमा तोडफोड गरी अन्नपात खाएको स्थानीयवासी रविलाल चौधरीले बताउनुभयो । हातीको समूहले दुई दिन रातिदेखि पटक–पटक गाउँ पसेर आतङ्क मचाइएको उहाँको भनाइ छ ।

हात्तीले स्थानीय इन्द्रनारायण चौधरी, उमाकान्त चौधरी, भोलाप्रसाद चौधरी, शिवनारायण राम र बद्रीनारायण साहलगायतका घर तोडफोडसमेत गरेका छन् । यसबाट बच्ने उपाय छिटोभन्दा छिटो खोज्नेतर्फ सबै मिलेर लाग्नुपर्ने नगरप्रमुख मुक्तनाथ चौधरीले बताउनुभयो । यस्तै कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीले दुई दिन अघि मात्रै राति सप्तरीको शम्भुनाथ नगरपालिकाको आधा दर्जन घर भत्काउनुका साथै लाखौँको अन्नबाली नष्ट गरेको छ ।

हात्तीको समूहले शम्भुनाथ नगपालिका वडा नं २ र ७ मा आधा दर्जनभन्दा बढी फुसको घर भत्किनुका साथै लाखौँको खाद्यान्न र खेतमा लगाइएका अन्नबाली नष्ट गरेका छन् । चार÷पाँच वटा समूहमा रहेको हात्तीले शम्भुनाथ नगरपालिका–२ का मो. जाहागिर, मो असराद्दिन, मो. हजरादिन तथा वडा नं ७ का सिमरित दास, सुकमार दास, भीम दास, राजकुमार दास, काशीकुमार दासलगायतको घर भत्काइदिएको पीडितले बताएका छन् ।

हात्तीको आतङ्कपछि गाउँले त्रासमा जाग्राम बस्न समेत थालेका छन् । सो क्षेत्रका बालबालिका पनि घर बाहिर निस्कन डर मानिरहेका छन् । हात्ती आतङ्कबाट सर्वाधिक प्रभावित मानिएको शम्भुनाथ नगरपालिका, कञ्चनरुप नगरपालिका, सुरुङ्गा नगरपालिका, सप्तकोशी नगरपालिका, खडक नगरपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका, रुपनी गाउँपालिका र अग्निसाइर कृष्णासवरण गाउँपालिकाका बासिन्दाले वर्षौंदेखि नियन्त्रण र क्षतिपूर्ति माग गर्दैै स्थानीय प्रशासन र आरक्ष प्रशासनलाई ज्ञापनपत्र बुझाए पनि हालसम्म कुनै ठोस पहल नभएको उनीहरूको गुनासो छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षका हात्तीले छ महिनायता मात्रै जिल्लामा दर्जनौँ घर भत्काएर लाखाँै मूल्यको धनमाल क्षति पु¥याएको प्रहरी तथ्याङ्कले देखाएको छ । अन्नबाली खान र चिसो मोसममा हात्ती धरै बाहिर निस्कने भएकाले अहिलेको समयमा जिल्लाको पश्चिमी, पूर्वी तथा उत्तरी भेगमा आतङ्क मचाउन थालिएको स्थानीयवासीको भनाइ छ । जङ्गली हात्तीले घर मात्र होइन, खेतबारीमा लगाएको अन्नबाली धान, गहुँ, मकै, केरा, तरकारीसमेत खाने र कुल्चेर नष्ट गर्ने गरेको पीडितहरूको भनाइ छ ।

धनमाल, सम्पत्ति र परिवारजनको ज्यान जोगाउनका लागि टर्च लाइट, आगो बालेर, लाठीसहित घरेलु हतियारले हात्ती लखेट्ने प्रयास गर्दा पनि सफलता नपाएको उनीहरूको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *