समाज

वन पैदावरको विक्री रोक्ने निर्णय खारेज गर्न माग (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर ३० गते १७:०६
वन पैदावरको विक्री रोक्ने निर्णय खारेज गर्न माग (भिडियोसहित)

३० मंसिर, २०७७ काठमाडौं । वन पैदावरको विक्रीलगायत व्यवस्थापनमा सरकारले लगाएको रोक फुकुवा गर्न र वैज्ञानिक वन व्यवस्थापनलाई निरन्तरता दिन माग गर्दै वन उपभोक्ता आन्दोलित भएका छन् ।

वैज्ञानिक वन व्यवस्थापन सरोकारवाला सञ्जाल कपिलवस्तुले लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै गत बैसाख २ गते मन्त्रिपरिषदले गरेको वन पैदावरको विक्री रोक्ने निर्णय तत्काल खारेज गर्न र वैज्ञानिक वन व्यवस्थापनलाई निरन्तरता दिन माग राखेका हुन् ।

सरकारले गएको जेठमा वन पैदावरको विक्रीलगायत व्यवस्थापनमा रोक लगाएपछि उपभोक्ता घाँस, दाउरा र काठ उपभोग गर्नबाट बञ्चित भएका छन् । जसका कारण चोरी तस्करी र मूल्यवृद्धि भएको, स्थानीयस्तरमा सिर्जित रोजगारी र ठूलो मात्रामा सरकारको राजश्व समेत गुमेको वन उपभोक्ताहरुको आरोप छ । उनीहरुले सरकारको निर्णयलाई अवैज्ञानिक र अव्यवहारिक भनेका छन् ।

सरकारको निर्णयले स्वदेशी वनको काठ वनमै कुहिएर गएको छ । त्यसको सट्टामा विदेशबाट काठ र तयारी फर्निचर आयात भइरहेको छ । सरकारको निर्णयले नेपाल र नेपालीलाई घाटै घाटा छ ।

सरकारले गलत र अव्यवहारिक निर्णय तत्काल सच्याउन सरोकारवालाहरुले आग्रह गर्दै आएका छन् ।

संघीय सरकारको निर्णयले तराईका २३ जिल्लाका ३१ वटा साझेदारी र करिब २२ हजार सामुदायिक वनले काठको विक्री वितरण र व्यवस्थापन गर्न पाएका छैनन् । निर्णय सच्याउन प्रदेश सरकारले पनि संघीय सरकारलाई भन्दै आएका छन् ।

सरकारी निर्णयका कारण कटान, मुछान र वन व्यवस्थापनको काम समेत प्रभावित हुँदा वन क्षेत्रको गुणस्तरमा समेत असर परेको छ । सदुपयोग गर्न नपाउने भएपछि वनमा रहेका बुढा र सुकेका काठ संकलन गर्न सकिएको छैन । काटिएका काठको समेत सदुपयोग गर्न नपाउँदा सामुदायिक वन समूह सञ्चालन हुनै नसक्ने अवस्थामा पुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *