माछा मार्ने विषयमा विवाद हुँदा सप्तरीमा एक महिलाको मृत्यु
२९ मंसिर, २०७७ सप्तरी । सप्तरीमा माछा मार्ने विषयमा दुई पक्षबीच भएको झडपमा एकजना महिलाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।
जिल्लाको बोदे बर्साइन नगरपालिका वडा नम्वर ३ कसमार टोलमा सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा दुई पक्षबीच झडप भएको प्रहरीले जनाएको छ ।
झडपमा ३५ बर्षीया गंगीयादेवी मण्डलको मृत्यु भएको जिल्लाका प्रहरी प्रवक्ता भुवनेश्वर साहले जानकारी दिनुभयो । लाठी, बाँसको भाटाले प्रहार गर्दा महिलाको घटनास्थलमै मृत्यु भएको थियो ।
झडपमा ५५ वर्षीय जयनारायण मण्डल, ३५ वर्षीय सोबिन्द्र मण्डल, १८ वर्षीय धिरज मण्डल र ४५ वर्षीय जोगिन्द्र मण्डल घाइते भएका छन् । उनीहरुको सिरहाको लहानमा उपचार भइरहेको छ ।
प्रहरीले घटनामा संलग्न रहेका अर्को पक्षका ५० वर्षीय शिवसरन मण्डल, ४७ वर्षीय बिजय मण्डल, २२ वर्षीय सुरेन्द्र मण्डल र २८ वर्षीय रवित मण्डललाई नियन्त्रणमा लिएको छ । संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया