विदेश

अमेरिकामा आजदेखि कोरोनाविरुद्धको खोप लगाइँदै

हिमालय टिभी
२०७७ मंसिर २९ गते ६:३८
अमेरिकामा आजदेखि कोरोनाविरुद्धको खोप लगाइँदै

२९ मंसिर, २०७७ न्युयोर्क । कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित भएको मुलुक अमेरिकामा आजदेखि कोरोनाविरुद्धको खोप लगाउने अभियान शुरु हुने भएको छ ।

खोप लगाउनका लागि आइतबारदेखि ढुवानीको काम शुरु गरिएको थियो । आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न अनुमति दिइएको ‘फाइजर–बायोएनटेक कोरोना भाइरस खोप’ अमेरिकामा पनि सर्वसाधारणलाई लगाइने भएको हो ।

यो खोप लगाउन सबैभन्दा पहिला बेलायतमा अनुमति दिइएको थियो । त्यसपछि बहराइन, क्यानडा, साउदी अरबलगायतका देशले पनि प्रचलनमा ल्याउने निर्णय गरेका थिए ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट सङ्क्रमित भएर १६ लाख मानिसको मृत्यु भएपछि सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा खोपको प्रयोग हुन लागेको हो ।

सो खोप ७० डिग्री सेल्सीयसको तापक्रमसहितको विषेश अवस्थामा मात्रै राख्न सकिने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

“अत्यावश्यक परेका सबैलाई हामीले खोप राम्रोसँग उपलब्ध गराउन सक्छौँ भन्ने हामीलाई विश्वास छ, त्यहीअनुसार कामहरु भइरहेको छ,” खोप वितरण तथा व्यवस्थापन कार्यमा खटिएका एक अमेरिकी अधिकारीले भने ।

उनीहरुका अनुसार शुरुमा यो सप्ताहन्तसम्ममा तीन करोड मात्रा खोप सबै राज्यहरूमा पठाउउने कार्य भइरहेको छ ।

दैनिक मृतकहरुको सङ्ख्या उच्च हुँदै गएपछि अमेरिकाले खोप प्रयोगमा हतार गरेको हो । गत शनिबार मात्रै अमेरिकामा एकैदिनमा ३,३०९ जनाको मृत्यु भएको थियो । यो सङ्ख्या अमेरिकामा एकैदिनमा कोरोनाका कारण मृत्यु भएकाहरुको सबैभन्दा ठूलो सङ्ख्या हो । त्यसैगरी यो सङ्ख्या विश्वमै पनि कोरोनाका कारण एकैदिनमा मृत्यु भएकाहरुको सबैभन्दा धेरै सङ्ख्या भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

केही समय कम देखिएको मृतकको सङ्ख्या अमेरिकामा पछिल्ला केही दिनदेखि फेरी बढ्दै गइरहेको छ । मृतक र सङ्क्रमितहरुको सङ्ख्यामा अत्यधिक वृद्धि भएपछि अमेरिकाले गत शनिबार यो खोप प्रयोगमा ल्याउने निर्णय गरेको थियो ।

खोप प्रयोग गर्ने पहिलो दिन आज १४५ स्थानमा खोप प्राप्त हुनेछ भने भोलि ४२५ स्थानमा र बुधबार ६६ स्थानमा प्राप्त हुने अधिकारीहरुले जनाएका छन् ।

पहिलो चरणको वितरण सकिएपछि केही दिनमै दोस्रो चरणको वितरण पनि शुरु गरिने र यसले धेरैको ज्यान जोगाउने उनीहरुको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *