खेलकूद

दशरथ रंगशालामा सन्यास लिन चाहन्छुः विराज महर्जन

हिमालय टिभी
२०७७ मंसिर २८ गते १४:२९
दशरथ रंगशालामा सन्यास लिन चाहन्छुः विराज महर्जन

२८ मंसिर, २०७७ काठमाडौं । फिफा विश्वकप छनोटका बाँकी तीन खेलको मिति तय भएसँगै नेपाली टिमले तयारी शुरु गरेको छ । प्रशिक्षक बालगोपाल महर्जनले बोलाएको ५८ खेलाडीमध्ये विराज महर्जन पनि एक हुन् ।

छनोटअन्तर्गत गत वर्षको सेप्टेम्बरमा भएको कुवेत र चाइनिज ताइपेईविरुद्धको म्याचका लागि नेपाली टिमको घोषणा हुँदा विराजको नाम थिएन । जुन सबैका लागि आश्चर्यजनक नै थियो । तर, बाँकी रहेका तीन खेलको प्रारम्भिक छनोटमा विराजको नाम समावेश भयो । जसका कारण पूर्व कप्तान उत्साहित छन् । ‘टिममा फर्किन पाउँदा निकै खुसी छु,’ विराजले भने ।

पछिल्लो पटक भएको सहिद स्मारक ए डिभिजन लीगमा विराजले कप्तानी गरेको मछिन्द्र क्लब च्याम्पियन बनेको थियो । सन् २००८ मा पाकिस्तानविरुद्धको खेलमा डेब्यू गरेका विराज पहिलो पटक राष्ट्रिय टिमबाट बाहिर बस्नु परेको थियो । ‘लीगमा राम्रो प्रदर्शन गरेपनि राष्ट्रिय टिममा नबोलाइँदा पीडा हुँदोरहेछ,’ विराजको भनाइ छ ।

प्रशिक्षकको नजरमा डिफेन्डर विराजको प्रदर्शन खस्किएको छ । यसका साथै युवा खेलाडी टिममा आगमनका कारण पनि धेरै उमेर भएका खेलाडीलाई चुनौती थपिएको छ । ‘फुटबलमा एज फ्याक्टर (उमेर) ले पनि धेरै फरक पार्छ,’ तीसौं बसन्त पार गरिसकेका विराज भन्छन्,‘तीस वर्ष कटिसकेका खेलाडीले १७–१८ वर्षका खेलाडीसँग प्रतिष्पर्धा गर्न गाह्रो हुन्छ ।’

‘बाहिर बस्ने प्रशिक्षक र छनोटकर्ताको नजरमा मेरो प्रदर्शन खस्किएको पनि हुनसक्छ । मेरो प्रदर्शनमा तलमाथि पनि भइरहेको थियो ।’

५८ सदस्यीय प्रारम्भिक टोलीमा परेपनि अन्तिम २३ सदस्यीय टिममा पर्नु भने विराजका लागि अझै चुनौती छ ।

यदि टिममा परेमा विराजले सन्यास लिने योजना बनाएका छन् । उनी सम्मानजनक विदाई होस् भन्ने चाहन्छन् । यो पटक घरेलु मैदानमा नै ठूलो प्रतियोगिता हुँदैछ ।

‘कुनै एउटा राम्रो खेल भयो भने सन्यास लिने सोचाईमा छु,’ विराज अब खेलाडी करियरलाई विट मार्न चाहन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्