गौतमबुद्ध कप क्रिकेटको पहिलो खेल सुपर ओभरमा टिम नारायणीको जित
२७ मंसिर, २०७७ चितवन । चितवनमा आजदेखि शुरु भएको गौतम बुद्ध कप क्रिकेटको पहिलो खेलमा नारायणी विजयी भएको छ ।
चितवनमा निर्माणाधीन गौतमबुद्ध रंगशालामा भएको खेलमा नारायणीले बाग्मतीलाई सुपर ओभरमा पराजित गरेको हो । सुपर ओभरमा नारायणीले २५ रन बनाउँदा बाग्मती २० रनमै सीमित भयो । नारायणीका लागि सबै २५ रन करण केसीले बनाए ।
बाग्मतीका लागि ज्ञानेन्द्र मल्ल एक्लैले २० रन बनाएका थिए । सुपर ओभरअघि नारायणीले निर्धारित २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय १७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बाग्मतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो । बाग्मतीका लागि ओपनर ब्याट्सम्यान सुनिल धमला र विक्रम शोबले समान ३७–३७ रनको योगदान गरे ।
अब प्रतियोगिताअन्तर्गत भोलि बाग्मतीले राप्तीको सामना गर्नेछ । तीन टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनल मंगलबार हुनेछ ।
प्रतिक्रिया