खेलकूद

विश्वकप छनोटका ३ वटा खेल नेपालले र चैत र जेठमा खेल्ने

हिमालय टिभी
२०७७ मंसिर २६ गते १८:४३
विश्वकप छनोटका ३ वटा खेल नेपालले र चैत र जेठमा खेल्ने

२६ मंसिर, २०७७ काठमाडौं । कोरोनाका कारण स्थगित भएको विश्वकप छनोटका ३ वटा खेल नेपालले चैत र जेठमा खेल्ने भएको छ ।

एसियाली फूटबल महासंघ (एएफसी)ले विश्वकप छनोटका बाँकी खेलको तालिका सार्वजनिक गरेको छ । जसअनुसार नेपालले चैत १२ गते चाइनिज ताईपेइ र त्यसको पाँच दिनपछि चैत १७ गते अष्ट्रेलियासँग दशरथ रंगशालामा खेल्नेछ ।

विश्वकप छनोटको अन्तिम खेलमा नेपालले जोर्डनको सामना गर्नेछ । समूह चरणको आफ्नो अन्तिम खेल आउँदो जेठ २४ गते जोर्डनसँग दशरथ रंगशलामा नै हुने छ ।

समूह बी मा रहेको नेपालले यसअघि ५ खेल खेल्दा १ जित र ४ हार बेहोरेको थियो । ३ अंक मात्र बनाएको नेपाल समूहको चौथो स्थानमा छ । यो समूहमा शतप्रतिशत जितका साथ १२ अंक जोडेको अष्ट्रेलिया शीर्षस्थानमा छ भने १० अंकसहित कुवेत दोस्रो र समान अंक जोडेको जोर्डन तेस्रो स्थानमा छ । अंकविहीन चाईनिज ताईपेइ पुछारमा छ ।

यसअघि दशरथ रंगशलामा समयमा तयार नहुँदा नेपालले कुवेतविरुद्धको होम म्याच भूटानमा खेलेको थियो । विश्वकप छनोट खेलकै तयारीमा नेपाली राष्ट्रिय टोलीले आइतबारदेखि प्रशिक्षण गर्दैछ । एन्फाले गत सातानै ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने निर्णय गरेको थियो ।

प्रमुख प्रशिक्षक योहान कालिनले राजीनामा दिएपछि अखिल नेपाल फूटबल संघ (एन्फा)ले बालगोपाल महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिएको छ । गएको मार्चमा हुने तय भएका विश्वकप छनोटका खेल कोरोना संक्रमणको जोखिमका कारण स्थगित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्