क्वीन्टन डि कक दक्षिण अफ्रिकी टोलीको अस्थायी कप्तान नियुक्त
२६ मंसिर, २०७७ काठमाडौं । क्वीन्टन डि कक दक्षिण अफ्रिका टेस्ट टोलीका कप्तानमा नियुक्त भएका छन् ।
अहिले एक दिवसीय र ट्वेन्टी–ट्वेन्टी फर्म्याटको नेतृत्व गरिरहेका डि ककलाई अस्थायी रुपमा टेस्टको कप्तानी सुम्पिएको हो ।
पूर्व कप्तान फाफ डु प्लेसिसले कप्तानको जिम्मेवारीबाट मुक्त हुने घोषणा गरेसँगै दक्षिण अफ्रिकी टेस्ट टोलीमा कप्तान नियुक्त गरिएको थिएन ।
दक्षिण अफ्रिकाले यसै महिना श्रीलंकाविरुद्ध घरेलु मैदानमा दुई खेलको टेस्ट सिरिज खेल्दैछ । त्यसपछि दक्षिण अफ्रिकाले पाकिस्तानमा पनि दुई वटा टेस्ट खेल खेल्ने तय भएको छ ।
सन् २००७ पछि दक्षिण अफ्रिका पहिलो पटक पाकिस्तान भ्रमणमा जान लागेको हो । त्यसलगत्तै दक्षिण अफ्रिकामा अष्ट्रेलियाविरुद्धको तीन खेलको सिरिज पनि हुनेछ ।
यो सिजनको अन्त्यमा दक्षिण अफ्रिकाले स्थायी टेस्ट कप्तान नियुक्त गर्नेछ । त्यसअघि हुने सबै खेलमा २७ वर्षे विकेट किपरले दक्षिण अफ्रिकी टोलीको नेतृत्व गर्नेछन् ।
प्रतिक्रिया