अर्को महिना राष्ट्रिय महिला लीग आयोजना गर्ने एन्फाको तयारी
२६ मंसिर, २०७७ काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कोरोनापछिको पहिलो प्रतियोगिताको रुपमा अर्को महिना राष्ट्रिय महिला लीग गर्ने तयारी गरेको छ ।
एन्फाको बैठकले स्थगित भएका लीगसँगै अन्य फूटबल प्रतियोगिता गर्न राष्ट्रिय खेलकूद परिषदमा स्वीकृति माग्ने निर्णय गरेको छ । र उसले माघको दोस्रो साता महिला लीग गर्ने तयारी थालेको छ ।
गत वर्ष तीन चरणमा महिला लीग गर्ने योजना बनाएको एन्फाले नगर छनोट गरे पनि कोरोनाका कारण प्रतियोगिता रोकिएको थियो । बैठकको निर्णय अनुसार एन्फाले महिला लीग माघ ७ गतेदेखि शुरु गर्ने तयारी गरेको छ ।
गत वर्ष मोफसलमा गराउने भनिएको लीग प्रतिकुल अवस्थाका कारण उपत्यकामै खेलाउने एन्फाको योजना छ । प्रतियोगितामा तीन विभागीय र अन्य चार टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
रुपन्देहीमा भएको छनोट प्रतियोगिताबाट आयोजक चन्द्रपुर नगरपालिका, चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका र विराटनगर नगपालिका छनोट भएका थिए ।
प्रतियोगिताको लागि तीन वटै विभागीय टोलीले प्रशिक्षण सुरु गरिसकेका छन् । त्यस्तै, स्थगित रहेको बी डिभिजन र जिल्ला लीग गर्ने पनि एन्फाले निर्णय गरको छ ।
प्रतिक्रिया