खेलकूद

गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता मङ्सिर २७ देखि

हिमालय टिभी
२०७७ मंसिर २५ गते ९:०३
गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता मङ्सिर २७ देखि

२५ मंसिर, २०७७ चितवन । भरतपुर महानगरपालिकाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गौतमबुद्ध कप, २०२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

वाग्मती प्रदेश क्रिकेट सङ्घको आयोजना तथा चितवन क्रिकेट सङ्घको संयोजनमा मङ्सिर २७ गतेदेखि प्रतियोगिता शुरु गर्न लागिएको हो । प्रतियोगिताका खेल निर्माणाधीन रङ्गशालाको नमूना मैदानमा हुनेछन् ।

प्रतियोगितामा सहभागिता जनाउने तीन टोली घोषणा भएको छ । आयोजक वाग्मती प्रदेश क्रिकेट सङ्घले प्रतियोगितामा सहभागिता जनाउने तीन वटा टोलीको नाम सार्वजनिक गरेको हो । प्रतियोगितामा टिम वाग्मती, टिम नारायणी र टिम राप्तीले सहभागिता जनाउने सङ्घका कोषाध्यक्ष अनिल अधिकारीले जानकारी दिनुभयो ।

वाग्मतीको कप्तानमा राष्ट्रिय टोलीको समेत कप्तान रहनुभएका ज्ञानेन्द्र मल्ल रहनुभएको छ । यस्तै नारायणीको कप्तान पूर्वराष्ट्रिय कप्तान पारस खड्का र राप्तीको कप्तानमा विनोद भण्डारी रहनुभएको छ ।

प्रतियोगिताको पहिलो खेलमा मङ्सिर २७ गते ज्ञानेन्द्र मल्लको वाग्मती र पारस खड्काको नारायणी भिड्नेछन् । दोस्रो खेलमा मङ्सिर २८ गते वाग्मती र विनोद भण्डारीको राप्ती भिड्नेछन् भने तेस्रो खेलमा राप्ती र नारायणी भिड्ने छन् । शीर्ष दुईमा रहने टोली फाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल मङ्सिर ३० गते हुने अधिकारीले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमणका कारण दर्शकदीर्घा भने खाली हुने भएको छ । अधिकारीले भन्नुभयो, “खेल राष्ट्रियस्तरको टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने छ । दर्शकदीर्घा खाली हुनेछ ।” प्रतियोगितालाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्राविधिक सहयोग गर्नेछ भने वाग्मती प्रदेश खेलकूद विकास समिति र भरतपुर माहानगरपालिकाको आर्थिक सहयोग गर्नेछ ।

कोभिड–१९ का कारण ठप्प रहेको क्रिकेट गतिविधिलाई पुनः चलायमान गर्दै रङ्गशालाको प्रचारका लागि प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्