नेपालगञ्ज मेडिकल कलेजमा आइसीयू र भेन्टिलेटर संख्या दोब्बर (भिडियोसहित)
२३ मंसिर, २०७७ बाँके । नेपालगञ्ज मेडिकल कलेजले नेपालगञ्ज र कोहलपुरका आफ्ना अस्पतालमा आइसीयु बेड र भेन्टिलेटरको संख्या दोब्बर वृद्धि गरेको छ ।
मेडिकल कलेजले नेपालगञ्जमा २० वटा आइसीयु बेड, ७ वटा भेन्टिलेटर र एउटा पोर्टेबल अल्ट्रासाउन्ड मेसिन थप गरेको हो । योसँगै नेपालगञ्जमा आइसीयु बेडको संख्या ५२ र भेन्टिलेटरको संख्या १४ पुगेको छ ।
त्यसैगरी शिक्षण अस्पताल कोहलपुरमा ३२ वटा आइसीयु बेड, ४ वटा भेन्टिलेटर र एउटा पोर्टेबल अल्ट्रासाउन्ड थपेको छ । कोहलपुरमा मेडिकल कलेजले आइसीयु बेडको संख्या ५२ र भेन्टिलेटरको संख्या १० पुर्याएको छ ।
आइसीयु बेड र भेन्टिलेटरको संख्या थप भएपछि गम्भिर प्रकृतिका बिरामीको उपचार थप प्रभावकारी र व्यवस्थित हुने अस्पतालको विश्वास छ ।
नेपालगञ्जका अस्पतालमा आइसीयु बेड र भेन्टिलेटर नपाएर दैनिक १० देखि १५ जनासम्म बिरामी अन्यत्र रिफर गर्नुपर्ने अवस्था आएपछि उपकरण थप गरेको अस्पतालले जनाएको छ ।
२४ वर्षअघि स्थापना भएको नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर र नेपालगन्जस्थित शिक्षण अस्पतालले लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका दैनिक १ हजारभन्दा बढी बिरामीलाई उपचार सेवा दिँदै आएको छ।
प्रतिक्रिया