राजनीति

स्थायी कमिटीलाई ओलीको पत्र, प्रचण्ड र नेपालमाथि यस्तो गम्भीर आरोप (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २१ गते २०:४७
स्थायी कमिटीलाई ओलीको पत्र, प्रचण्ड र नेपालमाथि यस्तो गम्भीर आरोप (भिडियोसहित)

२१ मंसिर, २०७७ काठमाडौं । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न आरोप लगाउँदै ल्याएको प्रस्ताव स्थायी कमिटीमा छलफलको विषय बनेपछि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले गम्भीर आपत्ति जनाउनुभएको छ ।

स्थायी कमिटीलाई पत्र लेखेरै ओलीले प्रचण्डको प्रस्तावकै कारण बैठकमा उपस्थित नहुने र नभएको जानकारी गराउनुभएको छ ।आफ्नो पूर्व अडान अनुसार प्रचण्डको प्रस्ताव फिर्ता लिन माग गर्नुभएको छ । त्यति मात्रै होइन, स्थायी कमिटीमा दर्ज गरिएको ओलीको पत्रमा प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालमाथि गम्भीर आरोप लगाइएको छ । ओलीले आफू नझुक्ने पनि प्रष्ट पार्नुभएको छ ।

ओलीको पत्र स्थायी कमिटीलाई, के छ पत्रमा ?
सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) गम्भीर मोडमा छ, यसका शीर्ष नेताहरु न सम्बन्ध न सम्बन्ध विच्छेदको अवस्थामा छन् । यही अवस्थामा नेकपाको स्थायी कमिटी बैठक शुरु भएको छ । जहाँ दुई अध्यक्षका राजनीतिक प्रस्ताव र पत्रलाई छलफलको विषय बनाइएको छ । जसमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीको गम्भीर आपत्ति छ । खासगरी प्रचण्डको प्रस्तावलाई सचिवालयमा झै ओलीले अस्वीकार गर्नुभएको छ । तर पहिले स्थायी कमिटी बैठकलाई बेवास्ता गरेका र स्थायी कमिटी सदस्यलाई हुल्लडबाज भनेका ओलीले यसपटक सहयोगको अपील गर्नुभएको छ ।

प्रचण्डका कारण समस्या
कात्तिक २८ गते प्रचण्डले आफूविरुद्ध पेश गरेको प्रस्तावका कारण नै पार्टीभित्र असामान्य अवस्था सिर्जना भएको ओलीले पत्रमा उल्लेख गर्नुभएको छ । जसलाई आफ्नो पूर्व मान्यता अनुसार ओलीले अभियोग पत्र भन्नुएको छ । प्रचण्डले स्वस्थ र मर्यादित छलफलका सम्पूर्ण सीमा भत्काएर नीतिगत बहसलाई शत्रुतापूर्ण अन्तर्विरोधमा रुपान्तरण गरेको, पार्टी विधान मात्रै होइन, राज्यका संविधान र कानूनसमेत आकर्षित हुने प्रकृतिका सङ्गीन फौजदारी आक्षेप लगाएको ओलीको मत छ । त्यसैले यसमा छलफल नै हुन नसक्ने भएकाले बैठकमा उपस्थित नभएको र छलफल हुने भए प्रचण्डको प्रस्ताव निःशर्त फिर्ता हुनुपर्ने अडान राख्नुभएको छ ।

प्रचण्ड–नेपालले जसरी पनि जित्न खोजेको आरोप
महाधिवेशनसम्मका लागि अन्तरिम हैसियतमा बनेका र महाधिवेशन सम्पन्न गर्नुपर्ने मुख्य दायित्व बोकेका पार्टी कमिटी त्यसैअनुरुप सहमतिका आधारमा चल्नुपर्नेमा ओलीको जोड छ । र, यसका लागि आफूले विधि पद्धति मानेरै काम गरेको ओलीको दावी छ । तर नामै नलिई ओलीले प्रचण्ड र नेपाल लगायतका सचिवालका बहुमत सदस्यलाई खेलको नियम परिवर्तन गर्न खोजेको आरोप लगाउनुभएको छ ।

ओलीले पत्रमा भन्नुभएको छ –मलाई थाहा थिएन, खेलको उत्तरार्द्धमा आएर केही कमरेडहरु ‘खेलको नियम’ नै बदल्न लाग्नुहुनेछ र ‘जसरी पनि जित्ने’ महत्त्वाकांक्षाका निम्ति जुनसुकै हदसम्म जान तयार हुनुहुनेछ।’ प्रचण्ड–नेपाल पक्षको प्रयास राजनीतिक दृष्टिले गलत मात्रै होइन, विभाजनकारी समेत भएको ओलीको तर्क छ ।

नेतृत्व र सत्ता मोहको आरोप
ओलीले प्रचण्ड नेपाल लगायतका नेताहरुमाथि व्यग्र नेतृत्व मोह र सत्तामोह देखिएको गम्भीर आरोप लगाउनुभएको छ । प्रचण्ड नेपाल पक्षले महाधिवेशनभन्दा बाहिरबाट नेतृत्व परिवर्तन गर्न र निर्वाचनबाहिरबाट सरकार बदल्न खोजेको ओलीको आरोप छ ।

ओलीले एकता महाधिवेशनपछि पार्टी नेतृत्व र निर्वाचनपछि सरकारको नेतृत्वमा नरहने पनि पत्रमार्फत स्थायी कमिटी सदस्यलाई जानकारी गराउनुभएको छ । व्यक्तिगत स्वार्थका लागि आन्दोलनकै शिकार गर्न खोजिएको ओलीको आरोप छ ।

‘सत्यसँग लड्दिन, शक्तिसँग झुक्दिनँ’
ओलीले आफूलाई बहुमतको आडमा हटाउन खोजिए नझुक्ने सन्देश पनि दिनुभएको छ । ओलीले लेख्नुभएको छ– सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने मेरो जीवन आदर्श हो।’ सत्य व्यक्ति र संस्थाका सही विचार र व्यवहारमा अन्तर्निहित हुन्छ भन्दै आफू नै सही भएको जिकीर गर्नुभएको छ ।

स्थायी कमिटीबाट सहयोगको अपेक्षा
पहिले ओलीले स्थायी कमिटी सदस्यहरुलाई हुल्लडबाज भन्नुभएको थियो । तर आफू गम्भीर संकटमा परेका यो बेला ओलीले स्थायी कमिटी सदस्यहरुलाई विश्वासमा लिने प्रयास गर्नुभएको छ । ओलीले पत्रमा लेख्नुभएको छ– मलाई स्थायी कमिटीका कमरेडहरुको सामूहिक विवेकमाथि विश्वास छ। आशा छ, कमरेडहरुले यस पटक पनि व्यक्ति विशेषका स्वार्थका लागि आन्दोलनकै शिकार हुने गरी सिर्जना भएको वर्तमान सङ्कटपूर्ण अवस्थालाई आफ्नो सक्रिय पहलकदमी, सकारात्मक हस्तक्षेप र विवेकबाट निकास दिनुहुनेछ।’ ओलीले गत भदौ २६ को जस्तै निर्णय आउने अपेक्षा गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्