सडक दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते

हिमालय टिभी
२०७७ मंसिर १८ गते ८:३३
सडक दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते

१८ मंसिर, २०७७ महोत्तरी । महोत्तरी जिल्लाको माईस्थान–गौशाला–सम्सी सडकमा बुधबार राति भएको दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सो सडकको गौशाला नगरपालिकाको सुर्ती विकास चोकमा बुधबार राति १० बजे दुर्घटना हुँदा गौशाला–८ का १९ वर्षीय अमर पाचेमगरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको हो ।

राति तीव्र गतिमा हाँकिएको प्रदेश २–०२–००२ प ९३५८ नम्बरको मोटरसाइकल चोकको पार्कमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा परी गौशाला–८ कै १७ वर्षीय युवराज बलम्पाकी घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिनुभयो । घाइते बलम्पाकीलाई प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याइएको प्रहरीले जनाएको छ ।

कम चौडाइ भएको सडकको चारतिर (बर्दिबास, सम्सी, इटाटार र रजखोर) तर्फको सडकबाटो छुट्टिने सो चौरस्ता चोकमा यसअघि पनि बाक्लै दुर्घटना हुँदै आएको छ ।

राति तीव्र गतिमा हाँकिएको मोटरसाइकल एकतिर मोड्ने क्रममा नियन्त्रण गुमेर पार्कमा ठोक्किन पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ । मृतक पाचेले मोटरसाइकल हाँकेको र बलम्पाकी पछाडिको सिटमा बसेका बुझिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *