खेलकूद

जिदानको रियल भविष्य खतरामा, पोचेटिनोलाई बर्नाबाउको जिम्मेवारी !

हिमालय टिभी
२०७७ मंसिर १७ गते १६:४८
जिदानको रियल भविष्य खतरामा, पोचेटिनोलाई बर्नाबाउको जिम्मेवारी !

१७ मंसिर, २०७७ काठमाडौं । च्याम्पियन्स लीगको समूह चरणअन्तर्गतको खेलमा युक्रेनको शाक्तर डोनेस्ट्कसँग पराजित भएपछि रियल मड्रिड प्रशिक्षक जिनेदिन जिदानको जागिर संकटमा परेको छ ।

समूह बी अन्तर्गतको खेलमा रियल मड्रिड शाक्तरसँग २–० ले पराजित भएको थियो । यसअघि भएको होम म्याचमा पनि स्पेनिस जायन्ट रियल शाक्तरसँग ३–२ ले पराजित भएको थियो । जसका कारणले गर्दा रियलको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना अत्यन्तै न्यून बनेको छ ।

स्पेनिस मिडियाका अनुसार रियल जिदानलाई बर्खास्त गर्ने मनसायमा पुगेको छ । च्याम्पियन्स लीगमा मात्र होइन, स्पेनिस ला लिगामा पनि रियल मड्रिड लिग लिडर रियल सोसियडाडभन्दा सात अंकले पछि छ ।

फूटबलसम्बन्धी स्पेनिस पोर्टल मार्काका अनुसार जिदानलाई बर्खास्त गर्दै रियलले अर्जेन्टाइन प्रशिक्षक माउरिसियो पोचेटिनोलाई अनुबन्ध गर्ने मनसाय बनाएको छ । तर, रियलले आधिकारिक रुपमा इंग्लिस क्लब टोटनह्याम हट्स्परका पूर्व प्रशिक्षक पोचेटिनोलाई सम्पर्क गरेको छैन ।

पोचेटिनोसँगै रियलका लिजेन्ड राउललाई पनि यो जिम्मेवारी दिन सक्ने मार्काले समाचारमा उल्लेख गरेको छ ।

तर, जिदानले भने राजीनामा नदिने स्पष्ट पारिसकेका छन् । पछिल्लो २४ संस्करणमा रियलले लगातार नकआउट चरणमा स्थान बनाउँदै आएको छ ।

नकआउट चरणमा पुग्नका लागि रियल मड्रिडले अन्तिम खेलमा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकलाई हराउनु पर्नेछ । समूहमा रियल मड्रिड सात अंकसहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्