आर्थिक

आज पनि बढ्यो शेयर बजार, धितोपत्र बोर्ड भन्छ–अध्ययन गरेर लगानी गर

हिमालय टिभी
२०७७ मंसिर १५ गते १७:०९
आज पनि बढ्यो शेयर बजार, धितोपत्र बोर्ड भन्छ–अध्ययन गरेर लगानी गर

१५ मंसिर, २०७७ काठमाडौं । कारोबार भएकामा अधिकांश कम्पनीको शेयरको भाउ बढेपछि शेयर बजार परिसूचक नेप्से आज पनि उकालो लागेको छ ।

पछिल्ला केही दिनदेखि दैनिक रुपमा नेप्से बढिरहेको छ । परिसूचक आज २८ दशमलव ७९ अंकले बढेर १९ सय ९७ दशमलव ७९ बिन्दुमा पुगेको छ ।

हिजो उच्च अंकमा बढेको बैंकिङ्ग समूहसहित विकास बैंक, वित्त र म्युचुअल फन्ड समूहको सूचक घटे पनि अरु सबै समूहको बढेको छ । हिजो र आज बिहान बजार खुले लगत्तै बैंक तथा वित्तीय समूह बढेको थियो । तर नाफा बुक गर्नेले बैंक तथा वित्तीय समूहको शेयर बिक्री चाप बढाएका थिए ।

आज दिनभरीमा ८ अर्ब ८६ करोड रुपैयाँ बराबरोक शेयर किनबेच भएको छ । यो हिजो भन्दा ३६ करोड कम हो । हिजो अहिलेसम्मकै उच्च ९ अर्ब २२ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा ब्याजदर घटेको छ । यस्तै सूचिकृत कम्पनीले पहिलो त्रैमासको वित्तीय विवरण राम्रो निकालेका छन् ।

कम्पनीले लाभांश घोषणा गर्दै साधारण सभा बोलाइरहेका छन् । जसले गर्दा शेयर बजारमा उपयुक्त माहोल बनेको भन्दै लगानी बढ्दै गएको छ ।

यसैबीच शेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले हल्ला र अनुमानका आधारमा नभइ अध्ययन गरेर मात्र लगानी गर्न आग्रह गरेको छ ।

बोर्डले आज विज्ञप्ति निकालेर आफूले लगानी गर्ने कम्पनीको वित्तिय स्थितिको विश्लेषण र संस्थागत सुशासनको अवस्था र आफ्नो जोखिम बोक्न सक्ने क्षमतालाई बुझेर लगानी गर्न भनेको छ ।

शेयर बजार सुधारका लागि बोर्डले गरेका कामकै कारण २१ लाख ८० हजार डिम्याट खाता भएका र प्राथमिक बजारमा ८ लाख जनाले लगानी गर्ने गरको उसको दावी छ ।

नेपाल स्टक एक्सचेञ्जको अनलाइन प्रणालीमार्फत ८५ प्रतिशत कारोबार हुन थालेको र लगानीकर्ता बढेकाले शेयर बजार बढेको बोर्डको दावी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *