शेयर बजारमा कीर्तिमान, नेप्से ७५ अंकले बढेर अहिलेसम्मकै उच्च १९ सय ६८ विन्दुमा

१४ मंसिर, २०७७ काठमाडौं । बढ्दो क्रममा रहेको शेयर बजारले आज अर्को कीर्तिमान कायम गरेको छ ।
शेयर बजार परिसूचक नेप्से ७५ अंकले बढेर १९ सय ६८ विन्दुमा पुगेको दिन आज ९ अर्ब २२ करोड रुपैयाँको शेयर किनबेच भएको हो ।
नेप्से परिसूचक इतिहासकै उच्च विन्दुमा पुगेको हो भने कारोबार रकममा कीर्तिमान कायम भएको हो ।
यसअघि गत बिहीबार ७ अर्ब ६१ करोड रुपैयाँको शेयर किनबेच भएको थियो । आज अधिकांश बैंक तथा वित्तीय संस्थाको शेयर मूल्य बढेको छ । जसका कारण नेप्से ७५ अंकले बढ्न सहयोग गरेको हो ।
यसअघि अरु समूहको शेयर मूल्य बढे पनि बैंक तथा वित्तीय संस्थाको शेयर मूल्य बढेको थिएन । तर अब भने लगानीकर्ता बैंक तथा वित्तीय संस्थाको शेयरमा पनि आकर्षित भएका छन् ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा ब्याजदर घटेको छ । यस्तै सूचिकृत कम्पनीले पहिलो त्रैमासको वित्तीय विवरण राम्रो निकालेका छन् ।
कम्पनीले लाभांश घोषणा गर्दै साधारण सभा बोलाइरहेका छन् । जसले गर्दा शेयर बजारमा उपयुक्त माहोल बनेको भन्दै लगानी बढ्दै गएको छ । त्यसैले बजारमा शेयरको माग बढेको छ भने परिसूचक र कारोबार रकमले नयाँ उचाई लिँदै गएको छ ।
प्रतिक्रिया