कोरोना महामारीले वैदेशिक लगानीमा असर गरेन (भिडियोसहित)
![कोरोना महामारीले वैदेशिक लगानीमा असर गरेन (भिडियोसहित)](https://www.himalayatv.com/wp-content/uploads/2020/11/lagani.jpg)
१३ मंसिर, २०७७ काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विश्वभर नै लगानीको वातावरण बिथोलिएको र यसले नेपाल भित्रिने वैदेशिक लगानीसमेत घटाउने धेरैको विश्लेषण थियो । तर चालु आर्थिक वर्षको पहिलो चौमासिकमा स्वीकृत वैदेशिक लगानीको आँकडाले भने वैदेशिक लगानीमा कोरोना महामारीले असर नगरेको देखाएको छ ।
चालु आर्थिक वर्षको पहिलो चौमासिकमा पोहोरको दाँजोमा ४२ करोड रुपैयाँले वैदेशिक लगानी स्वीकृति बढेको छ । गत वर्षको पहिलो चौमासिकसम्ममा १९ अर्ब २४ करोड रुपैयाँ वैदेशिक लगानी स्वीकृत भएको थियो ।
चालु आर्थिक वर्षको पहिलो चौमासिकमा १९ अर्ब ६६ करोड रुपैयाँको वैदेशिक लगानी स्वीकृत भएको उद्योग विभागले जनाएको हो । यो लगानी पर्यटन, सेवा, सूचना प्रविधि, उत्पादनमुलक र कृषि तथा वन पैदावरसम्बन्धी उद्योगमा भित्रिएको हो । कोरोना महामारीले वैदेशिक लगानी घटाउने अनुमान विपरित लगानी बढेको हो ।
पहिलो चौमासिकमा स्वीकृत वैदेशिक लगानी
लगानी : १९ अर्ब ६६ करोड रुपैयाँ
परियोजना संख्या : ९४
प्रस्तावित रोजगारी : २ हजार ९ सय
गत वर्षको पहिलो चौमासिकमा स्वीकृत वैदेशिक लगानी
लगानी : १९ अर्ब २४ करोड रुपैयाँ
परियोजना संख्या : १ सय १५
प्रस्तावित रोजगारी : ६ हजार ३ सय
वार्षिक स्वीकृत वैदेशिक लगानी :
आरव २०७२/७३ : १५ अर्ब २५ करोड रुपैयाँ
आरव २०७३/७४ : १५ अर्ब २० करोड रुपैयाँ
आरव २०७४/७५ : ५५ अर्ब ७६ करोड रुपैयाँ
आरव २०७५/७६ : २५ अर्ब ४८ करोड रुपैयाँ
आरव २०७६/७७ : ३८ अर्ब ५ करोड रुपैयाँ
पोहोरको दाँजोमा लगानी बढे पनि संख्या र प्रस्तावित रोजगारी भने घटेको छ । गत आर्थिक वर्षको पहिलो चौमासिकमा ६ हजार ३ सयलाई रोजगारीको प्रस्तावसहित १ सय १५ वटा परियोजनामा लगानी भित्रिएको थियो ।
तर यो वर्ष ९४ परियोजनामा लगानी स्वीकृत भएको छ । जसबाट २ हजार ९ सयलाई रोजगारी दिने प्रस्ताव छ । परियोजना र प्रस्तावित रोजगारी घटे पनि स्वीकृत यो लगानी आर्थिक वर्ष २०७२र७३ र २०७३र७४ को पुरै वर्षभन्दा बढी हो । यी दुबै आर्थिक वर्षमा १५ अर्ब रुपैयाँ वैदेशिक लगानी स्वीकृत भएको थियो ।
स्वीकृत लगानीमध्ये असोजसम्ममा २ अर्ब ९२ करोड रुपैयाँ लगानी भित्रिसकेको राष्ट्र बैंकले उल्लेख गरेको छ । यसले कोरोना महामारीले समेत लगानीकर्तालाई नेपालमा लगानी गर्न निरुत्साहित नगरेको देखाएको छ । तर पहिलेको भन्दा लगानी नखस्किए पनि व्यापक वैदेशिक लगानी भित्र्याउन अझ थुप्रै काम गर्न आवश्यक रहेको विज्ञले सुझाएका छन् ।
कोरोना महामारीका माझ वैदेशिक लगानीमा देखिएको यो संकेतले अर्थतन्त्रमा आशाको सञ्चार गराएको छ । अब सरकारले स्वीकृत लगानी नेपाल भित्र्याउने माहौल बनाउनु त पर्छ नै लगानी बढाउन विज्ञले दिएका सुझावलाई कार्यान्वयन पनि गर्नुपर्छ ।
प्रतिक्रिया