राजनीति

प्रचण्डमाथि ओलीको हमलाः विगतका हत्यालाई लिएर अप्ठ्यारो पर्ने चेतावनी (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १३ गते २०:२६
प्रचण्डमाथि ओलीको हमलाः विगतका हत्यालाई लिएर अप्ठ्यारो पर्ने चेतावनी (भिडियोसहित)

१३ मंसिर, २०७७ काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको प्रतिवेदनमा अर्का अध्यक्ष प्रचण्डमाथि चर्को आक्रमण गरिएको छ ।

प्रचण्डले लगाएका आरोपको बुँदागत रुपमा जवाफ दिदै ओलीले पार्टी विभाजनमा पुगेको समेत उल्लेख गर्नुभएको छ । त्यति मात्रै होइन विगतको शसस्त्र युद्धमा भएका हत्यालाई लिएर ओलीले घुमाउरो ढंगबाट प्रचण्डलाई धम्की समेत दिनुभएको छ । ओलीको प्रतिवेदनमा मुख्य मुख्य विषय के छन् त ?

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफुमाथि लागेका आरोप खण्डन गर्दै उल्टै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि अनेकौं आरोप लगाउनु भएको छ । सचिवालय बैठकमा अध्यक्ष ओलीले पेश गरेको जवाफी प्रतिवेदनको शुरुमै प्रचण्डको आरोप खारेज गर्छु भनिएको छ । आफुमाथिका आरोप प्रचण्डको व्यक्तिगत असन्तुष्टि, सीमाहिन कूण्ठा र निहित स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो मात्रै भएको ओलीको दाबी छ ।

ओलीले प्रचण्डलाई सम्बोधन गर्दै जुन व्यक्तिको मनमा यति धेरै आक्रोश, आग्रह, घृणा र कुण्ठा अटेसमटेस भएर बसेको छ, त्यस्ता व्यक्तिबाट सरकार र पार्टी सञ्चालनमा कस्तो सहयोग भयो होला भनेर शुरुमै प्रश्न गर्नुभएको छ । ओलीले पार्टीभित्रका असहमतिलाई शत्रुतापूर्ण अन्तरविरोधमा बदलेको र कम्युनिष्ट आन्दोलनलाई नै गंभीर सङ्कटमा धकेलेको आरोप पनि लगाउनुभएको छ ।

प्रचण्डमाथि ओलीको हमला
जुन व्यक्तिको मनमा यति धेरै आक्रोश, आग्रह, घृणा र कुण्ठा अटेसमटेस भएर बसेको छ, त्यस्ता व्यक्तिबाट सरकार र पार्टी सञ्चालनका क्षेत्रमा कस्तो सहयोग भयो होला ?

वस्तुतः तपाईँले आफ्ना एकतर्फी लिखतमार्फत् पार्टीभित्रका असहमतिहरुलाई शत्रुतापूर्ण अन्तरविरोधमा बदल्नुभएको छ र कम्युनिष्ट आन्दोलनलाई गम्भीर सङ्कटमा धकेल्नु भएको छ ।

तपाईँको यो ‘प्रस्ताव’ वस्तुतः कुनै राजनीतिक प्रस्ताव होइन, आफ्नै सहयोद्धा अध्यक्षमाथि लगाइएको ‘अभियोगपत्र’ हो र यसलाई अगाडि सारेर तपाईँले वस्तुतः पार्टी विभाजनको अनौपचारिक घोषणा गर्नुभएको छ ।

प्रचण्डलाई ओलीको चुनौती
कि आरोप पुष्टि गर्नुस् र राज्यको कानुन तथा पार्टी विधान अनुसार कार्बाही गर्नुस्, कि त आफ्नै सहयोद्धामाथि निराधार आरोप लगाएर पार्टी एकता भङ्ग गर्ने धृष्टताको जवाफदेही बन्न तयार हुनुहोस्

प्रचण्डलाई ओलीको चेतावनी
तपाईंले भनेको ‘पाँच हजार मान्छेको हत्याको जिम्मा म लिन्छु’ को अर्थ के हो रु तपाईंका यस्ता अभिव्यक्तिले समस्यामा झन गाँठो पर्न सक्छ भन्ने ख्याल गर्नुहोस् । खेलबाड गर्ने गल्ती नगर्नुस् ।

प्रचण्डमाथि ओलीको हमला
आफ्नै छोरीलाई जिताउन मतपत्र च्यात्ने लज्जास्पद उपायको सहारा लिनु पर्ने ठाउँमा तपाईँलाई पुर्‍यायो । तपाईँका अगाडि एउटा गम्भीर प्रश्न उभियो, नेपाली काङ्ग्रेससँगको गठबन्धनमा गाँसिदै अन्ततः विलयनको बाटोमा जाने कि नयाँ राजनीतिक संभावनाको खोजी गर्ने ।

आज पनि तपाईं, सिधै प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्तावका लागि भनेर हस्ताक्षर गराउँदा साथीहरुले प्रश्न उठाउलान् भनेर, विभिन्न विकास आयोजनाका लागि सरकारसँग माग गर्ने बहानामा सांसदहरुलाई खाली कागजमा सही गराउँदै हुनुहुन्छ

छलफल गरेर निष्कर्षमा पुगिने ठाउँ हुँदाहुँदै, नेताहरुलाई निश्चित मान्यतामा ‘खः’ गराएर मात्रै बैठकमा आउनु पर्ने यस्तो अविश्वास र दाउपेचको आवश्यकता किन पर्‍यो ?

चार महिनापछि हुने महाधिवेशनबाट सहज नेतृत्व हस्तान्तरण र चयनको बाटो छाडेर हरबखत नेतृत्व परिवर्तनको चलखेल किन रु के कमरेडहरुलाई महाधिवेशनमा आउने प्रतिनिधिहरुको विवेकमाथि विश्वास छैन ?

नेतृत्व हस्तान्तरणका लागि म यही दस्ताबेजलाई मेरो अध्यक्षको जिम्मेवारी हस्तान्तरणको औपचारिक लिखत बनाउन तयार छु १ के तपाईं तयार हो ?

आरोप लगाइरहँदा एकपल्ट आफूले नेतृत्व गरेको अवधिको आत्मसमिक्षा गर्नु भए हुन्थ्यो । जुन व्यक्तिको ३० वर्षे नेतृत्वकालमा सहयोद्धा साथीहरु अत्यन्त पीडाका साथ पार्टी छाड्न विवश भएका छन्, जसमध्ये कतिको दुखद मृत्यु समेत भएको छ, जसको नेतृत्वकालमा पार्टी पटक–पटक विभाजित भएर चिराचिरा भएको छ, जहाँ तजबिजका भरमा कुनै बेला कमिटी दुई अङ्कमा झर्छ अनि तुरुन्तै ४ हजार सदस्यीय बन्छ, कमरेडले मलाई यस्तो आरोप लगाउन अलिकति अप्ठ्यारो मान्नु पर्ने हो ।

ओलीले सचिवालय बैठकमा पेश गर्नु भएको प्रतिवेदनको पूर्णपाठ

आफ्नै सहयोद्धा अध्यक्षमाथि संगिन आरोप लगाएर प्रचण्डले पार्टी विभाजनको अनौपचारिक घोषणा गरेको पनि ओलीको दाबी छ । ओलीले आफुमाथि लागेका आरोप पुष्टि गर्न चुनौति दिँदै नत्र पार्टी विभाजनको जवाफदेहिता लिन पनि भन्नु भएको छ ।

प्रतिवेदनमा ओलीले प्रचण्डले विगतमा गरेका कामको शिलशिलेवार रुपमा व्याख्या गर्दै त्यसलाई नबिर्सन पनि चुनौति दिनुभएको छ । ओलीले घुमाउरो रुपमा युद्धमा मान्छे मारिएका विषयमा दण्ड हुनसक्ने भन्दै धम्कीसमेत दिनुभएको छ । विगतमा युद्धमा मारिएका पाँच हजार मान्छेको हत्याको जिम्मा लिन्छु’ भन्नुको अर्थ के हो भन्दै ओलीले यस्ता विषयमा खेलबाड गर्ने गल्ती नगर्नुहोला भन्दै चेतावनी दिनुभएको छ ।

३८ पेज लामो जवाफी प्रतिवेदनमा ओलीले प्रचण्डमाथि संविधान निर्माणमा निष्ठा’ नदेखाएको, अस्थिरतामै रम्ने गरेको, आफ्नै छोरीलाई जिताउन मतपत्र च्यात्ने लज्जास्पद उपायको सहारा लिएको जस्ता आरोप पनि लगाउनुभएको छ । नेपाली काङ्ग्रेससँगको गठबन्धनमा गाँसिदै अन्ततः विलयनको बाटोमा जान थालेपछि एमालेसँग एकतामा आएको ओलीको आसय छ ।

ओलीले अहिले पनि आफुलाई प्रधानमन्त्रीबाट हटाउन सांसदहरुको हस्ताक्षर भइरहेको दाबी पनि गर्नुभएको छ । सरकारलाई काम गर्न नदिएको, पूनर्गठनको हल्ला चलाएर काममा बाधा हालिएको, सत्तालिप्सामा लागेको, राजनीतिक स्थिरताविरुद्ध लागेको, पार्टीमा बहुमतको खेल खेल्न खोजेको जस्ता आरोप पनि ओलीको प्रतिवेदनमा छन् ।

ओलीले पार्टी कमिटीमा बहुमतको खेल खेल्ने भए विधान सच्चाएर अघि बढ्न पनि भन्नुभएको छ । यस्तै कार्यकारी अधिकार सहित पार्टी सञ्चालनको जिम्मा पाएका अध्यक्षले पछिल्लो चोटी १५ दिनभित्र सम्पन्न गर्ने भनिएको एकीकरणको काम कहाँ पुर्‍याउनुभयो भनेर ओलीले प्रश्न पनि गर्नुभएको छ ।

प्रचण्डको प्रतिवेदनमा त्याग गर्न माग गरिएको प्रति लक्षित गर्दै ओलीले महाधिवेशन र आगामी निर्वाचनबाट नेतृत्वमा आउन विश्वास नभएको हो भन्ने अर्को प्रश्न पनि गर्नुभएको छ ।

अझ अघि बढेर ओलीले त्यागको यो सिलसिला आजै सुरु गरौँ भन्दै सरकार र पार्टीको नेतृत्व गरेका सबैले अब जिम्मेवारी नलिइ नयाँ पुस्तालाई हस्तान्तरणको घोषणा गर्न पनि आग्रह गर्नुभएको छ । ओलीले यही दस्ताबेजलाई अध्यक्षको जिम्मेवारी हस्तान्तरणको औपचारिक लिखत बनाउन समेत तयार रहेको भन्दै प्रचण्डलाई के तपाईं तयार हो भनेर पनि सोध्नुभएको छ ।

आफुमाथि लगाइएका ‘व्यक्तिवादी’, ‘गुटवादी’ र ‘एकाधिकारवादी’ जस्ता आरोपको खण्डन गर्दै ओलीले युद्धकालका सहयोद्धा र तत्कालिन माओवादीका कार्यकर्ताको अवस्था अहिले कस्तो छ भनेर हेर्न भन्दै कटाक्ष गर्नुभएको छ ।

प्रतिवेदनको अन्त्यमा ओली केही नरम बन्दै यस्ता प्रस्तावले पार्टीमा विग्रह निम्त्याउने भएकाले खारेज गरेर अघि बढ्न आग्रह समेत गर्नुभएको छ । उहाँले भदौ २६ गतेको स्थायी कमिटिले गरेको निर्णय अनुसार अघि बढ्न पनि आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्