खेलकूद

रुपन्देहीमा देशकै नमूना क्रिकेट रंगशाला बन्दै (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १३ गते १४:३२
रुपन्देहीमा देशकै नमूना क्रिकेट रंगशाला बन्दै (भिडियोसहित)

१३ मंसिर, २०७७ रुपन्देही । रुपन्देहीको सैनामैनामा नेपालकै नमूना क्रिकेट रंगशाला बन्ने भएको छ । सैनामैना ७ लम्टैयामा करिब १५ बिघा जग्गामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने भएको हो ।

यसका लागि नगरपालिकाले जग्गाको व्यवस्थापन गरिसकेको छ । खेलकूद विकास समितिमार्फत आएको बजेटबाट जग्गा सम्याउने, तारजालीको कामसँगै डीपीआरसमेत तयार गरिएको छ ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट करिब १२ किलोमिटर उत्तरतर्फ सैनामैनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन लागिएको हो । ९० यार्डको पिचसहितको रंगशाला निर्माण गरिनेछ । सैनामैना नगरपालिकाले प्रस्तुत गरेको डीपीआरमा ९४ हजार ८ सय १७ वर्गमिटर क्षेत्रफलमा रंगशाला बन्ने र करिब २ अर्ब १९ करोड रुपैयाँ खर्च हुने उल्लेख छ ।

यो वर्ष लगानीको श्रोत जुटाएर ठेक्का व्यवस्थापनको तयारी गरिएको छ । राष्ट्रिय तथा बैदैशिक लगानी जुटाएर बहुवर्षीय योजनामा रंगशाला निर्माण गर्ने नगरपालिकाको तयारी छ ।

यसअघि धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा रंगशाला निर्माण गर्नुपुर्व नगरपालिकाले यही स्थान रंगशालाको लागि दिने भनेको थियो । तर धुर्मुस सुन्तलीले चितवनमा बनाउन थालेपछि नगरपालिका आफैं अघि बढेको हो ।

गत वर्ष संघीय सरकारको खेलकूद विकास समितिमार्फत आएको बजेटबाट माटो कटिङ्ग, शौचालय र ड्रेसिङ्ग रुम निर्माण गरिएको छ ।

रंगशाला पूर्वपश्चिम राजमार्गबाट २ किलोमिटर दक्षिणतर्फ पर्दछ । करिब ६ महिनाको स्थलगत अध्ययन गरी रंगशालाको डीपीआर तयार गरिएको हो । ४४ विघा जग्गामध्ये सैनामैना वडा नम्वर ७ ले १५ बिघा जग्गा रंगशाला निर्माणको लागि व्यवस्थापन गरेको छ ।

सैनामैनामा अन्तर्राष्टियस्तरको रंगशाला निर्माण गर्न भौगोलिक रुपले पनि उचित ठानिएको छ । यसवाहेक भैरहवामा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थलका कारण पनि रुपन्देहीमा रंगशाला बन्दा धेरै सहज हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्