राजनीति

प्रचण्डको प्रस्तावविरुद्ध यस्तो छ ओलीको तयारी (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १० गते २०:०१
प्रचण्डको प्रस्तावविरुद्ध यस्तो छ ओलीको तयारी (भिडियोसहित)

१० मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक नजिकिँदै गर्दा दुवै पक्ष आन्तरिक रणनीति बनाउन व्यस्त छन् । प्रचण्ड–नेपाल समूहले गम्भीर आरोप लगाएपछि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली प्रस्ताव लेखनमा जुट्नुभएको छ, जसमा प्रचण्डका गम्भीर आरोपको प्रतिवाद हुनेछ । आफूलाई एउटा पदबाट हटाउने योजना बनेपछि ओलीले पनि कसरी प्रतिवाद गर्ने भनेर योजना बनाइरहनुभएको छ ।

पछिल्लो पटक रक्षात्मक अवस्थामा पुगेको ओली पक्ष अहिले आफूमाथि पर्ने गरी रणनीति बनाइरहेको छ । कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि विभिन्न आरोप लगाएर पेश गरेको प्रस्तावको जवाफ लेखनमा ओली पक्ष जुटेको छ ।

त्यसका लागि उपप्रधानमन्त्री एवं सचिवालय सदस्य ईश्वर पोखरेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङ र प्रधानमनत्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमालसहितको टोली खटिरहेको छ । प्रचण्डको प्रस्तावको बलियो प्रतिवाद गर्ने ओली पक्षको तयारी छ । तर सकेसम्म प्रचण्डलाई प्रस्ताव फिर्ता गर्न लगाउने प्रयाससहित ओली पक्ष जवाफ लेखनमा लागेको छ ।

ओलीको योजना र तयारी
१. प्रचण्डलाई दबाब दिएर संयुक्त प्रस्ताव तयार पार्ने

ओली पक्ष प्रचण्डको प्रस्तावको प्रतिवादको तयारीसँगसँगै समानान्तर ढंगले प्रचण्डलाई प्रस्ताव फिर्ता गराउने प्रयासमा छ । यसका लागि ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, शंकर पोखरेल र सुवासचन्द्र नेम्वाङ लागिरहनुभएको छ । र, १३ गते बस्ने सचिवालय बैठकमा पनि प्रचण्डलाई प्रस्ताव फिर्ता लिन दबाब दिएर संयुक्त प्रस्ताव बनाउने ओली र ओली पक्षको तयारी छ ।

२. प्रचण्डको प्रस्ताव फिर्ता नभए जवाफ सहितको प्रतिवेदन पेस गर्ने

प्रचण्डलाई प्रस्ताव फिर्ता गराउने प्रयास भएपनि ओली पक्षले संकेत राम्रो पाएको छैन । किनकी प्रचण्डले प्रस्ताव फिर्ता नलिने अडान राख्नुभएको छ । र सचिवालयका बहुमत सदस्यले यसमा स्वामित्व पनि लिएका छन् । त्यसैले फिर्ता गर्न नसके प्रचण्डको काउण्टरमा ओलीले सचिवालय बैठकमै प्रस्ताव पेश गर्नुहुनेछ, जसलाई ओलीले आरोपपत्र र लाञ्छनापत्र भन्नुभएको छ, त्यसै अनुसार ओलीले लिखित जवाफ दिनुहुनेछ ।

३. विवाद समाधानका लागि कार्यदल गठन गर्न प्रस्ताव गर्ने

प्रचण्डले आफ्नो प्रस्तावमा ओलीलाई संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी, कम्युनिष्ट विरोधी र भ्रष्टाचारीको संरक्षकसमेत भन्नुभएको छ । यसको ओलीले जवाफ त दिनुहुनेछ । तर पार्टी एकताको रक्षामा जोड दिँदै विवाद समाधानका लागि कार्यदल गठनको प्रस्ताव गर्ने तयारी गर्नुभएको छ ।

४. स्थायी कमिटी र केन्द्रीय कमिटीमा विवाद लैजान नदिने
कार्यदल बनाउने ओलीको प्रस्तावको खास कारण विवादलाई स्थायी कमिटी वा केन्द्रीय कमिटीमा लैजान नदिने हुनेछ, किनकी सचिवालयमा अल्पमतमा रहेका ओली प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल मिल्दा स्थायी समिति र केन्द्रीय कमिटीमा पनि अल्पमतमा पर्नुहुनेछ । त्यो स्थिति नआओस भनेर सचेततापूर्वक ओलीले प्रस्ताव ल्याउने तयारी गर्नुभएको छ । किनकी प्रचण्ड–नेपाल पक्ष सकेसम्म स्थायी कमिटी र केन्द्रीय कमिटीमा लगेर ओलीलाई बाध्य पार्ने रणनीतिमा छ ।

५. छोड्नै परे अध्यक्ष छोड्ने
पछिल्लो पटक नेकपाको प्रचण्ड–नेपाल पक्ष ओलीलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पदबाट हटाउने अडान र दाउमा छ । प्रचण्डको प्रस्तावमै ओलीले त्याग गर्नुपर्ने लेखिनुको अर्थ त्यही हो । सकेसम्म ओलीलाई प्रधानमन्त्रीबाट हटाउने प्रचण्ड–नेपाल पक्षको तयारी छ । यो योजना बुझेका ओलीले छोड्नै परे अध्यक्ष छोड्ने र बाँकी कार्यकाल प्रधानमन्त्री हुने ओलीको रणनीति छ । यसो गर्दा ओलीले पार्टीभित्र आफू पक्षीय नेताको व्यवस्थापनलाई शर्त बनाउनुहुनेछ ।

सरकार सञ्चालनमा भएको हस्तक्षेप, प्रतिपक्षीलाई फाइदा पुग्नेगरी भएका गतिविधि, सरकार गिराउन भएका क्रियाकलाप र अब कसरी अघि बढ्ने भनेर ओलीले प्रतिवेदन पेश गर्नुहुनेछ । र, त्यसमा ओलीलाई फाइदा हुने गरी शंकर पोखरेल र सुवासचन्द्र नेम्वाङले प्रचण्डसँग ओलीका तर्फबाट गरिएका छलफल प्रस्ताव र विषयहरु समेत समेटिनेछ । यसो गर्दा ओलीको प्रतिवेदन बलियो हुने अनुमान गरिएको छ ।

ओलीले प्रतिवेदनमार्फत तल्लो तहका नेता तथा कार्यकर्तालाई समेत पार्टीभित्र विवाद आउनुको कारण जानकारी दिने प्रयास गर्नुहुनेछ । तर भाषा भने प्रचण्डको जस्तो आक्रामक नभएर नरम हुने ओलीको प्रस्ताव लेख्न खटिएका एक नेताले जानकारी दिए ।

तलैसम्म प्रस्ताव जाने भएकाले नरम भाषा प्रयोग गर्दा फाइदा हुने ओली पक्षको बुझाई छ । ओलीको प्रतिवेदन बढीभन्दा पार्टी एकतामा जोड दिएर प्रचण्डको खण्डन गर्नेमा केन्द्रीत हुनेछ । यसो गर्दा प्रचण्ड– नेपाल पक्ष रक्षात्मक हुन सक्छ भन्ने अनुमान ओली पक्षको छ । सचिवालय बैठकअघि दुवै पक्षको तयारी हेर्दा अझै सहजै नेकपाको विवाद मिल्ने अवस्था देखिन्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्