आर्थिक

अर्थतन्त्रका सूचक सकारात्मक, रेमिटेन्स बढ्यो, महंगी घट्यो (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १० गते १९:४३
अर्थतन्त्रका सूचक सकारात्मक, रेमिटेन्स बढ्यो, महंगी घट्यो (भिडियोसहित)

१० मंसिर, २०७७ काठमाडौं । राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो तीन महिनाको प्रतिवेदनले लगभग सबैजसो आर्थिक सूचक सकारात्मक रहेको देखाएको छ ।

कोरोना महामारीका माझ तीन महिनामा रे‍मिट्यान्स साढे १२ प्रतिशतले बढेको छ । आयात साढे १२ प्रतिशतले घट्दा निर्यात १४ प्रतिशतले बढेको छ । वर्षौदेखि घाटामा रहेको चालु खाता बचतमा पुगेको छ भने महँगी केही घटेको छ ।

रेमिट्यान्स : साढे १२ प्रतिशतले बढ्यो
अन्तिम श्रम स्वीकृति लिने : ९७ प्रतिशतले घटे
पुन श्रम स्वीकृति लिने : साढे ७८ प्रतिशतले घटे
आयात : साढे १२ प्रतिशतले घट्यो
निर्यात : १४ प्रतिशतले बढ्यो
चालु खाता : ३४ अर्ब ३६ करोड रुपैयाँले बचतमा
शोधनान्तर : १ खर्ब १ अर्ब रुपैयाँले बचतमा
वैदेशिक मुद्रा सञ्चिति : ६९ अर्ब रुपैयाँले बढ्यो
मूल्यवृद्धि : ३.७९ प्रतिशतमा सीमित

कोरोना महामारीका कारण वैदेशिक रोजगारीको क्षेत्रमा व्यापक असर परिरहँदा धेरैको अपेक्षा रेमिट्यान्स घट्ने सरकारको विश्लेषण थियो । तर राष्ट्र बैंकले सार्वजन‍िक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको देशको आर्थिक स्थिति प्रतिवेदनले भने रेमिट्यान्स घट्नुको साटो बढेको देखाएको छ ।

साउनदेखि असोजसम्ममा २ खर्ब ५८ अर्ब ८६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ जुन अघिल्लो वर्षको तुलनामा साढे १२ प्रतिशतले धेरै हो । जबकी यो अवधिमा अन्तिम श्रम स्वीकृति लिएर विदेश जानेको संख्या करिब ९७ प्रतिशत र पुन श्रम स्वीकृति लिएर जाने साढे ७८ प्रतिशतले घटेको छ ।

राष्ट्र बैंकले यो अवधिमा आयात साढे १२ प्रतिशतले घटेको र निर्यात १४ प्रतिशतले बढेको समेत जनाएको छ । यो अवधिमा २ खर्ब ९२ अर्ब रुपैयाँको आयात भएको छ भने ३१ अर्ब रुपैयाँको निर्यात भएको छ । वर्षौदेखि निरन्तर घाटामा रहेको चालु खाता समेत यो अवधिमा बचतमा पुगेको छ ।

असोजमा चालु खाता ३४ अर्ब ३६ करोड रुपैयाँ बचतमा छ । गत बर्षको असोजमा चालु खाता २२ अर्ब ४७ करोड रुपैयाँ घाटामा थियो । शोधनान्तर बचत समेत १ खर्ब १ अर्ब रुपैयाँ नाघेको छ । यो पाहोरको दाँजोमा झन्डै १० गुणाले बढी हो ।

गत वर्षको यो अवधिमा शोधनान्तर १४ अर्ब रुपैयाँले बचतमा थियो । रेमिट्यान्स वृद्धि र आयातमा आएको कमीले वैदेशिक मुद्रा सञ्चितिमा समेत ६९ अर्ब रुपैयाँको वृद्धि देखिएको छ ।

गत वर्ष १४ खर्ब १ अर्ब रुपैयाँ रहेको वैदेशिक मुद्रा सञ्चिति बढेर १४ खर्ब ७० अर्ब रुपैयाँ पुगेको हो । वैदेशिक मुद्राको यो सञ्चितिले १४ महिनाको आयात धान्न सक्ने राष्ट्र बैंकको भनाइ छ । साउनदेखि असो‍जसम्ममा मूल्यवृद्धिसमेत निकै घटेको पाइएको छ ।

गत आर्थिक वर्ष साउनदेखि असोजसम्मको तीन महिनामा मूल्यवृद्धि ६ दशमलव २१ प्रतिशत थियो । तर यो वर्ष मूल्यवृद्धि ३ दश‍मलव ७९ प्रतिशतमा सीमित रहेको राष्ट्र बैंकले जनाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *