थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग पुस पहिलो साताबाट खन्ने तयारी
१० मंसिर, २०७७ काठमाडौं । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग पुस पहिलो हप्तादेखि खन्ने तयारी भएको छ ।
सुरुङमार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले काम शुरु गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।
मङ्सिर पहिलो हप्तादेखि नै सुरुङ खनिने बताइए पनि कोरोना जोखिमका कारण पछि सरेको छ । शाक्यले सुरुङमार्गको मुखमा राखिने स्टिलको फ्रेम निर्माण भइरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले कार्यस्थलमा २० जना जापानी प्राविधिकसहित दुई सयभन्दा बढी जनशक्ति काममा खटिइरहेका छन् । जापानबाट थप १५ जना प्राविधिक आउने तयारीमा छन् ।
सुरुङमार्ग निर्माण गर्न नौ सय टन विस्फोटक पदार्थ आवश्यक रहेकोमा निर्माण स्थलको भण्डारण क्षमताअनुसार अहिले ६० टन आयात गरिएको छ ।
नौ सय टनमध्ये तीन सय टन भारतबाट आयातका लागि नेपाली सेनाले आयोजनालाई अनुमति दिइसकेको छ । करिब २ दशमलव ७ किलोमिटर लम्बाइको सुरुङमार्गको चौडाइ करिब १२ मिटर र उचाइ आठ मिटर हुनेछ ।
प्रतिक्रिया