इंग्लिस प्रिमियर लीगमा बर्नलीको पहिलो जित
९ मंसिर, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा बर्नलीले पहिलो जित निकालेको छ ।
प्रिमियर लीग अन्तर्गत गएराति बर्नलीले क्रिष्टल प्यालेसलाई १–० गोलले पराजित गरेको हो । घरेलु मैदानमा बर्नलीलाई जित दिलाउन क्रिस उडले गरेको गोल नै निर्णायक रह्यो ।
उडले खेलको आठौं मिनेटमै गोल गरेका थिए । जारी प्रतियोगितामा पहिलो खेल जितसँगै बर्नली रेलिगेशन जोनबाट एक स्थान माथि उक्लिएको छ । बर्नलीले ८ खेलबाट ५ अंक जोड्दा पराजति भएको क्रिष्टल ९ खेलबाट १३ अंक जोडेर एघारौं स्थानमा छ ।
लीग अन्तर्गत गएराति नै सम्पन्न अर्को खेलमा साउथह्याम्टन र उल्भ्स १-१ गोलको बराबरीमा रोकिएका छन् । ५८ औं मिनेटमा थियो वालकटको गोलसँगै साउथह्याम्टनले अग्रता बनाएपनि उल्भ्सका पेड्रो निटोले ७५औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए ।
बराबरीपछि ९ खेलबाट १४ अंकसहित उल्भ्स तालिकाको नवौं स्थानमा उक्लिंदा समान ९ खेलबाट १७ अंकसहित साउथह्याम्टन पाँचौ स्थानमा कायमै छ ।
प्रतिक्रिया