आर्थिक

सिक्टा सिंचाई आयोजनाबाट खेतमा पानी पुग्दा बाँकेका किसान उत्साहित (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर ८ गते १८:४२
सिक्टा सिंचाई आयोजनाबाट खेतमा पानी पुग्दा बाँकेका किसान उत्साहित (भिडियोसहित)

८ मंसिर, २०७७, बाँके । सिक्टा सिंचाइ आयोजनाले गहुँ खेतीका लागि पहिलोपल्ट पानी उपलब्ध गराएपछि बाँकेका किसान उत्साही छन् ।

आयोजनाले किसानको माग अनुसार पश्चिमी मुल नहरमा ५ क्युसेक पानी चलाएपछि बाँकेको डुडुवा, कोहलपुर, नेपालगन्ज, खजुरा र बैजानाथ क्षेत्रका किसानले करिब २० हजार हेक्टरमा गहुँ, तोरी लगायतका खेती गरेका छन् ।

सिजन मै पानी पाएपछि किसानले खेतबारीमा सिंचाई गरेर गहुँ, तोरी र आलु खेती गरेका छन् । समयमा नै सिंचाइ गर्न पाएकाले किसानको खेती राम्रो भएको छ ।

विगतका वर्षहरुमा धान खेती गरेर खेतबारी बाँझै राख्ने किसानले यो वर्षदेखि सिंचाइ सुविधा पाएका हुन् । यसअघि उनीहरुले आकाशे पानीको भरमा हिउँदे बाली लगाउने गरेका थिए ।

यो वर्ष नहरमा पानी आएकाले बाँकेमा धानको उत्पादन २५ प्रतिशतले बढेको थियो । धानको उत्पादन बढेकाले खुसी भएका किसान अब हिउँदे बाली पनि राम्रो हुने आशामा मख्ख छन् ।

सिक्टाको मुल नहरको निर्माण पूरा भएको छ । तर त्यो नहरबाट किसानको खेतबारीमा पानी पुराउने शाखा र प्रशाखा नहर निर्माण भइसकेको छैन । त्यसैले अहिले किसानले नहरबाट पम्पसेट लगाएर पानी तानेर खेतबारीमा सिंचाइ गरि रहेका छन् ।

नहरबाट अहिले हिउँदमा बाँकेको २० हजार हेक्टर क्षेत्रमा सिंचाइ सुविधा पुर्‍याउने आयोजनाको योजना छ ।

बाँकेको करिब ३४ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुर्‍याउने उद्देश्यले १४ वर्ष अघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाको निर्माण कार्य २०७० को माघसम्म पूरा हुने लक्ष्य थियो । तर ७ बर्ष बितिसक्दा पनि नहर निर्माणका काम भने ६५ प्रतिशत मात्रै पूरा भएको छ ।

मुल नहरबाट किसानको खेतसम्म पानी पुराउनका लागि ७ वटा शाखा र ५० वटा उप शाखा गरेर करिब १ सय किलोमिटर नहर निर्माणको काम भई रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *