राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणको सबै तयारी पूरा

८ मंसिर, २०७७ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको बुधबारदेखि शुरु हुने बन्द प्रशिक्षणको सबै तयारी पूरा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीलाई बोलाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)का सदस्य दुर्गाराज पाठकका अनुसार बन्द प्रशिक्षणको सबै तयारी पूरा भएको छ । खेलाडीलाई राख्न होटल आइसोलेट गरी त्यहाँ अन्य व्यक्तिलाई प्रवेश निषेध गरिएको छ ।
बन्द प्रशिक्षणमा सहभागी हुने सबै खेलाडी प्रशिक्षक तथा ग्राउण्ड स्टाफको भोलि मंगलबार पीसीआर परीक्षण गरिने छ । पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आउने खेलाडी तथा प्रशिक्षकलाई राजधानीको एक होटलमा राखिनेछ भने ग्राउण्ड स्टाफलाई कीर्तिपुर मैदानमै राख्ने व्यवस्था गरिएको छ ।
ग्राउण्ड स्टाफलाई पहिलो चरणमा एक महिना घर जान दिइने छैन । स्वास्थ्य मापदण्डमा क्यान संवेदनशील रहेको र खेलाडीहरु मैदान उत्रन उत्साहित रहेको क्यानले जनाएको छ ।
प्रतिक्रिया