खेलकूद

धनगढीको फाप्ला क्रिकेट मैदानः बजेट फ्रिज हुँदै, गौरवको आयोजना अलपत्र (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर ७ गते १८:०७
धनगढीको फाप्ला क्रिकेट मैदानः बजेट फ्रिज हुँदै, गौरवको आयोजना अलपत्र (भिडियोसहित)

७ मंसिर, २०७७, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले धनगढीको फाप्लालाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने घोषणासहित गौरवको आयोजनामा राखेको दुई वर्ष बितिसक्यो । तर अहिलेसम्म काम अघि बढाउन सिन्को पनि भाँचिएको छैन । काम नभएपछि एकातिर बजेट फ्रिज हुँदै आएको छ भने अर्कातिर फाप्ला मैदान गौचरनमा परिणत भएको छ ।

फ्रेन्चाइजी क्रिकेट प्रतियोगिता हुँदै आएको धनगढीको फाप्लामा प्रदेश सरकारले अन्तर्राष्ट्रिय रङ्गशाला बनाउने घोषणा गरेपछि धनगढीका बासिन्दा खुसी भए ।

प्रदेश सरकारले घोषणा मात्र गरेन, गौरवको आयोजनामा राखी बजेट समेत छुट्ट्यायो । तर अहिलेसम्म जग्गा प्राप्तिको काम हुन सकेको छैन । त्यसले गर्दा उतिखेर खुसी भएका यहाँका खेलप्रेमी अहिले निराश छन् । मैदानका लागि भनेर सरकारले वर्षेनी बजेट छुट्याउँदै आए पनि काम अघि नबढेको उनीहरुको गुनासो छ ।

निर्माणको काम अलपत्र परेको मैदान अहिले गौचरणमा परिणत भएको छ । यसअघि धनगढी क्रिकेट एकेडेमीले आफ्नै खर्चमा फाप्ला मैदानको स्तरोन्नति गरी दुई पटक डीपीएल क्रिकेट आयोजना गरेको थियो । मैदानमा लगानी गर्न सरकारलाई नैतिक दबाब दिनु पनि एकेडेमीको उद्देश्य थियो । तर बजेट आए पनि कार्यान्वयन नहुँदा स्थानीय जनप्रतिनिधि पनि सन्तुष्ट छैनन् ।

फाप्ला मैदान रहेको जग्गामा विवाद भएकाले काम अगाडि बढाउन समस्या भएको प्रदेश सरकारको भनाइ छ । सुरुमा सामुदायिक वनको भनेर विवाद भए पनि जग्गा सरकारी भएको स्पष्ट भइसकेको छ । तर निर्माणका लागि कसैले पनि अग्रसरता देखाएको छैन । यस वर्ष मैदान निर्माणको काम अघि बढ्ने जिल्ला खेलकूद विकास समिति कैलालीका निवर्तमान अध्यक्ष बाबुराजा श्रेष्ठको दावी छ ।

दुई वर्षमा रङ्गशाला निर्माणका लागि छुटाइएको ५ करोडभन्दा बढी बजेट फ्रिज भइसकेको छ । चालू आर्थिक वर्ष एक करोड मात्र छुट्टाइएको छ । बजेट छुट्याइए पनि कामै शुरु नहुनुले अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाउने प्रदेश सरकारको गौरवको आयोजना कागजमै सीमित हुने आशंका बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्