गोपीकृष्ण पार्की जापानमा हुने टोकियो ओलम्पिकका लागि छानिए
६ मंसिर, २०७७ बाँके । नेपालगञ्ज म्याराथनको उपाधि जित्दै गोपीचन्द्र पार्की आगामी वर्ष जापानमा हुने टोकियो ओलम्पिकका लागि छनोट भएका छन् ।
बिहान नेपालगञ्जमा २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा दूरी पूरा गर्दै उनी टोकियो ओलम्पिकमा छनौट भएका हुन् । उपाधि जितेसँगै सशस्त्र प्रहरीका गोपीचन्द्रले ७५ हजार रुपैयाँ पुरस्कार हात पारेका छन् ।
पार्की १३ औं दक्षिण एसियाली खेलकूद सागका ५ हजार मिटर दौडका स्वर्ण विजेतासमेत हुन् । कोरोना महामारीको कारण अन्य प्रतियोगिता नहुँदा नेपाल ओलम्पिक कमिटीले नेपालगञ्ज म्याराथनको विजेतालाई ओलम्पिकमा सहभागी गराउने निर्णय गरेको थियो ।
त्यसैले उनले टोकियो ओलम्पिकमा स्थान सुरक्षित गरेका हुन् । दोस्रो भएका त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले २ घण्टा २० मिनेट ४९ सेकेण्डमा दूरी पूरा गरे । आर्मीकै खगेन्द्र भाटले २ घण्टा २७ मिनेट २८ सेकेन्डमा पूरा गर्दै तेस्रो भए ।
महिला हाफ म्याराथनको उपाधि एपीएफकै पुष्पा भण्डारीले जितिन् । उनले निर्धारित दूरी १ घण्टा २६ मिनेट ५४ सेकेण्डमा पूरा गरिन् ।
त्यस्तै कर्णाली प्रदेशकी मञ्जु रावत १ घण्टा ३० मिनेट ७ सेकेण्डसहित दोस्रो तथा १ घण्टा ३८ मिनेट १४ सेकेण्डसहित शर्मिला घर्तीले तेस्रो स्थान हासिल गरे ।
प्रतिक्रिया