ट्रम्पले अवरोध कायमै राखे कोरोनाबाट अझ धेरै मानिसको मृत्यु हुने बाइडेनको चेतावनी
२ मंसिर, २०७७ न्युयोर्क । राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिमकालको प्रक्रियामा अवरोध कायमै राखे कोरोना संक्रमणबाट अझै धेरै मानिसको मृत्यु हुने नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।
बाइडेनले अन्तरिमकालको प्रक्रियामा अवरोध रहेको भन्दै यसका कारण थप धेरै मानिसको संक्रमणबाट मृत्यु हुने चेतावनी दिएका हुन् ।
अमेरिकामा पछिल्लो दिन संक्रमण तथा मृत्युदर बढ्दो क्रममा छ । तर ट्रम्प प्रशासनले राष्ट्रपतिमा निर्वाचित बाइडेनको अन्तरिम टोलीलाई अत्यावश्यक सूचना तथा जानकारीमा पहुँच नदिएको र सहकार्य नगरेको बताइएको छ ।
अन्तरिम प्रशासनको मुख्य कार्यालय डेलवरमा बोल्दै बाइडेने यस्तो बताएका हुन् । उता नोभेम्बर ३ मा सम्पन्न चुनावमा पराजित भएपनि ट्रम्पले स्वीकार गरेका छैनन् । उनले लगातार धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन् ।
उता पूर्व प्रथम महिला मिसेल ओबामा पनि ट्रम्पको आलोचना गरेकी छिन् । राष्ट्रपतिमा निर्वाचित बाइडेनले ३ सय ६ इलेक्टोरल कलेज मत पाएका छन् । चुनावमा धाँधली भएको बारे ट्रम्पले देशभरका विभिन्न अदालतमा दायर गरेका मुद्धा प्रमाणको अभावमा खारेज हुने क्रम जारी छ ।
अन्तरिमकाललाई सहज बनाउने जिम्मेवारी पाएको जनरल सर्भिस एड्मिनिस्ट्रेसनले अझैसम्म नवनिर्वाचित राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस विजयी भएको स्वीकार गरेको छैन ।
प्रतिक्रिया