इंग्ल्याण्ड नेशन्स लीगको सेमीफाइनल चरण पुग्न असफल
१ मंसिर, २०७७ काठमाडौं । इंग्ल्याण्ड नेशन्स लीग फूटबलको सेमीफाइनल चरण पुग्न असफल भएको छ ।
समूह ए टू अन्तर्गत गएराति बेल्जियमसँग २–० ले पराजित भएसँगै इंग्ल्याण्डको अर्को चरण पुग्ने सम्भावना सकिएको हो ।
घरेलु मैदानमा बेल्जियमका लागि १० औं मिनेटमा युरी टिएल्मन्सले शुरुवाती गोल गरेका थिए । त्यसपछि २३ औं मिनेटमा ड्राइज मर्टेन्सले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारे ।
विश्व वरियताको शीर्ष स्थानमा रहेको बेल्जियमले पाँच खेलबाट १२ अंक जोड्दै समूहको शीर्ष स्थानमा छ । उता समान खेलबाट सात अंकसहित इंग्ल्याण्ड तेस्रो स्थानमा छ ।
यही समूहको अर्को खेलमा डेनमार्कले आइसल्याण्डलाई २–१ ले हरायो । समान पाँच खेलबाट डेनमार्क १० अंकसहित दोस्रो स्थानमा छ । यस्तै अन्य खेलमा इटाली, नेदरल्याण्ड्स, टर्की, वेल्स, फिनल्याण्ड, स्लोभेनिया तथा ग्रीस विजयी भएका छन् ।
समूह ए वान अन्तर्गत इटालीले पोल्याण्डलाई २–० ले र नेदरल्याण्ड्सले बोस्निया(हर्जगोविनालाई ३–१ ले हराए । जितसँगै इटाली ५ खेलबाट ९ अंकसहित शीर्ष स्थान उक्लिंदा समान खेलबाट अंक जोड्दै नेदरल्याण्ड्स दोस्रो स्थानमा पुगेको छ ।
त्यस्तै बी थ्री अन्तर्गत टर्कीले रुसलाई ३–२ ले, समूह बी फोरमा वेल्सले आयरल्याण्डलाई १–० तथा फिनल्याण्डले बुल्गेरियालाई २–१ ले, समूह सी थ्री मा स्लोभेनियाले कोसोभोलाई २१ ले हराउँदा ग्रीसले मोल्डोभालाई २–० ले हराए ।
प्रतिक्रिया