पूर्वी नेपालको भारतीय सीमा क्षेत्रमा धमाधम बीओपी स्थापना (भिडियोसहित)
३० कात्तिक, २०७७ पाँचथर । पूर्वी नेपालको भारतसँग सीमा जोडिएका क्षेत्रमा सशस्त्र प्रहरीको वोर्डर आउट पोष्ट ९बीओपी० धमाधम स्थापना भइरहेका छन् । पाँचथरका तीन स्थानमा हालै बीओपी स्थापना गरिएको छ । यसले सीमा सुरक्षाका साथै अपराध, तथा चोरी निकासी नियन्त्रण हुने अपेक्षा गरिएको छ ।
भारतसँग ४५ किलोमिटर सीमा क्षेत्र रहेको पाँचथरमा चारवटा बीओपी स्थापना गर्ने सरकारको योजना थियो । सोही अनुसार तीनवटा बीओपी स्थापना भइसकेको छ । भौगोलिक रुपमा विकट तथा भवनको अभावका कारण कतै सिमाना नजिकै तथा कतै केही टाढा बीओपी स्थापना गरिएको छ । पछिल्लो पटक याङवरक गाउँपालिकाको सुकेढापमा बीओपी उद्घाटन गरिएको छ ।
सुखेढापमा रहेको सामुदायिक भवनमा हाललाई बीओपी राखिएको छ । प्राकृतिक रुपमा सुन्दर तथा जैविक विविधताले धनी यो क्षेत्रमा सशस्त्र प्रहरीको पोष्ट राखिएपछि स्थानीय बासिन्दा र जनप्रतिनिधि खुसी भएका छन् ।
यस अघि पुष्पलाल मध्यपहाडी लोकमार्गको सुरुवाती विन्दु चिवाभञ्याङमा पोष्ट राखिएको थियो । यस्तै फालेलुङ गाँउपालिकाको भैसिमा पनि बीओपी स्थापना भइसकेको छ । अब फालेलुङ गाउँपालिकाको फालोटमा राख्ने तयारी छ । बीओपीमा सईको कमाण्डमा सशस्त्र प्रहरी खटिएका छन् । सीमा क्षेत्रमा सुरक्षाकर्मी राखिएपछि स्थानीय बासिन्दाले सुरक्षित महशुस गर्न थालेका छन् ।
प्रतिक्रिया