राजनीति

प्रचण्डको प्रतिवेदनले नेकपामा हंगामाः फिर्ता लिन ओली पक्षको माग (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २९ गते २०:२१
प्रचण्डको प्रतिवेदनले नेकपामा हंगामाः फिर्ता लिन ओली पक्षको माग (भिडियोसहित)

२९ कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा पेश गरेको प्रस्तावको ओली पक्षले विरोध गरेको छ । सचिवालयका सदस्य प्रस्तावबारे अहिलेसम्म मौन रहेपनि ओली पक्षका दोस्रो वरियता र त्यो भन्दा तलका नेताले त्यसको चर्को विरोध गर्दै आपत्ति जनाएका छन ।

उनीहरुले प्रचण्डको प्रस्ताव पार्टी एकताको मर्मविपरीत भन्दै फिर्ता लिन माग गरेका छन् । तर प्रचण्ड पक्षका नेता पनि प्रस्तावका पक्षमा उभिएका छन् । उनीहरुले यो प्रस्तावलाई नयाँ बहसको शुरुवात भनेका छन् । यसले नेकपाभित्रको विवाद थप पेचिलो बन्ने र आरोप प्रत्यारोप बढ्ने देखिएको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार शुक्रबार कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेको एकल प्रस्ताव सबै सचिवालय सदस्यलाई वितरण गरिएको छ । र, त्यो पढेपछि सचिवालय सदस्यहरुले त्यसमा आफ्नो धारणा राख्नेछन ।

सचिवालयमा रहेका अरु सदस्यले त यसबारे बोलेका छैनन् । तर नेकपाका पहिलो वरियताका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकट अरु नेताहरुले भने त्यो प्रस्तावलाई अस्वीकार गरेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं ओलीका विश्वास पात्र स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभएको छ । पोखरेलका अनुसार ओलीमाथि संगीन आरोप लगाइएको प्रचण्डको प्रस्तावले एकता संकटमा परेको र यो पार्टी एकताको मर्म अनि स्थायी कमिटीको भाव विपरीत छ ।

औपचारिक प्रस्ताव ल्याउँदा दुवै अध्यक्षको सहमति चाहिनेमा प्रचण्डले त्यसो नगरी एकल प्रस्ताव ल्याएको भन्दै पोखरेलले आपत्ति जनाउनुभएको छ । पोखरेलको संकेत छ ‘प्रचण्डले प्रस्ताव फिर्ता नलिए पार्टी एकताको रक्षा हुन सक्दैन । ’

पोखरेल मात्रै होइन, प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार एवं नेकपाका प्रचार विभाग उप्रमुख सूर्य थापा र पूर्व मन्त्री गोकुल बाँस्कोटा पनि प्रचण्डमाथि हमलामा उत्रिनुभएको छ । प्रचण्डमाथि सधै आक्रामक थापाले त प्रचण्डको प्रस्तावलाई अराजनीतिक, अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्ट्रीकरण भन्नुभएको छ । सचिवालय सदस्यले पढिरहेको र उनीहरु यसबारे औपचारिक रुपमा नबोलेको प्रस्तावमा पार्टी कमिटीमा छलफल नै हुन नसक्ने थापाको जिकीर छ ।

त्यति मात्रै होइन, थापाले त यो प्रस्ताव फिर्ता नभए संवाद समेत हुन नसक्ने र त्यो पनि शत्रुवत भएको घोषणा गर्नुभएको छ । थापा लेख्नुहुन्छ– यसलाई फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल गर्ने त के सम्वाद पनि शत्रुवत् र निरर्थक बन्न पुगेको हुनाले अविलम्ब फिर्ता गरिनुपर्छ ।’

थापाको यो धारणा ओलीकै चाहना अनुसार आएको विश्लेषण गर्न थालिएको छ । ओलीका विश्वास पात्र बाँस्कोटाले त प्रचण्डले एकताको आधार नै समाप्त पारेको आरोप लगाउनुभएको छ । तर प्रस्ताव फिर्ता नलिए प्रचण्डले गम्भीर तनाव झेल्नुपर्ने बाँस्कोटाको चेतावनी छ ।

प्रचण्ड पक्ष ओली पक्ष झै आक्रामक त छैन, तर उ पनि प्रतिवादमा उत्रिन थालेको छ । प्रचण्डको प्रस्तावका पक्षमा ऊर्जामन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य वर्षमान पुन उभिनुभएको छ । पुनले प्रचण्डको लिखित प्रस्तावलाई नयाँ बहसको शुरुवात भन्नुभएको छ ।

पुनले फेसबुकमा लेख्नुभएको छ – पार्टी जमेको पोखरी होइन, हिमालबाट बग्ने तीब्र बेगको नदी जस्तो हो । छलफल ,बहस, अन्तर्विरोधबाट कोही आत्तिने वा मात्तिने गर्नु जनउत्तरदायी र क्रान्तिकारी पार्टीका नेता एवं कार्यकर्ताको जिम्मेवारी हुनसक्दैन ।’
बहसबाट पार्टीमा विधि, पद्धति र राजनीतिक संस्कारको विकास गर्न पुनको आग्रह छ ।

यस्तै नेकपाको भातृसंगठन युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटाको प्रतिक्रिया भने अलि आक्रामक छ । सापकोटाले ओलीले आत्मालोचना गरे प्रस्ताव फिर्ता गर्नुपर्ने अन्यथा छलफल हुनुपर्ने तर्क गर्नुभएको छ । पार्टी फूटको धम्की नदिन पनि सापकोटाले ओली पक्षीय नेतालाई चेतावनी दिनुभएको छ ।

प्रचण्डले ओलीमाथि प्रहार गर्दै एकल रुपमा सचिवालयमा पेश गरेको प्रस्ताव र त्यसमा देखिएका क्रियाप्रतिक्रियाले नेकपाभित्रको कलह साम्य होइन, झन बढ्ने र थप पेचिलो हुने संभावना देखिएको छ, यी क्रियाप्रतिक्रिया त्यसका पूर्व संकेत हुन सक्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्