राजनीति

नेकपामा तरंग ल्याउने यस्ताे छ प्रचण्डकाे प्रतिवेदन (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २९ गते २०:१८
नेकपामा तरंग ल्याउने यस्ताे छ प्रचण्डकाे प्रतिवेदन (भिडियोसहित)

२९ कात्तिक, २०७७ काठमाडौं । प्रचण्डले हिजो सचिवालयमा पेश गरेको प्रस्तावले नेकपामा तरंग ल्याएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीमाथि हमला गरेर प्रचण्डले प्रस्ताव ल्याएपछि ओली पक्ष आक्रोशित छ र त्यसलाई पार्टी एकता विरोधी भनेको छ । ओली पक्ष तरंगित र आक्रोशित हुने गरी प्रचण्डको प्रस्तावमा त्यस्तो के छ त ?

ओली ‘एकता विरोधी’
प्रचण्डले आप्नो १९ पन्ने प्रस्तावमा ओलीलाई एकता विरोधी भन्नुभएको छ । पार्टी, विचार, नीति र योजनाको होइन प्रतिष्ठानका नाममा आफ्नो गुटलाई पुरानै रुप र मान्यता अनुसार सक्रिय पारी ओलीले एकताको मर्ममाथि प्रहार गरेको प्रचण्डको आरोप छ ।

प्रचण्डको प्रस्तावमा भनिएको छ ‘ओलीले पार्टी एकताको वैचारिक–राजनैतिक आधार र भावना आत्मसात नगरेको मात्र होइन बरु त्यसका विरुद्ध आफ्ना क्रियाकलापहरु बढाइरहनु भएको छ ।’ ओलीले केवल सत्ता प्राप्ति र गुटगत स्वार्थ पुरा गर्ने हतियारका रुपमा राजनीतिक प्रतिवेदनलाई स्वीकार गरेको प्रचण्डको गम्भीर आरोप छ । पार्टी निर्णय नमानेको देखि आफू निकटलाई च्यापेको र अरुलाई निषेध गरेको प्रचण्डको प्रस्तावमा उल्लेख छ ।

ओली ‘संघीयता र संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी’
प्रचण्डले ओलीमाथि अर्को गम्भीर आरोप लगाउनुभएको छ, त्यो हो ओली संघीयता र संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी हुनुहुन्छ । ओलीले प्रदेशलाई संघीय सरकारको प्रशासनिक इकाईका रुपमा व्याख्या गरेको, विधेयक बनाउँदा, कर्मचारी खटाउँदा र आर्थिक विन्यास गर्दै संघीयता विरोधी ढंगले काम र व्यवहार दुवै गरेको भनेर प्रचण्डले प्रस्तावमा उल्लेख गर्नुभएको छ । सकेसम्म प्रदेशको अधिकार कटौती गरी एकात्मक केन्द्रीकृत मान्यता अनुसार नै शासन चलाउन ओलीले जोड दिएको प्रचण्डको आरोप छ ।

ओली ‘कम्युनिष्ट सिद्धान्त विरोधी’
प्रधानमन्त्री ओलीको नेतृत्वमा मुलुकमा नेपाल कम्युनिष्ट पार्टीको शासन चलिरहेको छ, तर सरकार चलाइरहेका ओलीका काम, व्यवहार र सोंच प्रचण्डलाई कम्युनिष्ट सिद्धान्त विरोधी र विपरीत लागेको छ । ओलीमा छलफल, बहसलाई उपेक्षा गर्ने र भिन्न मितलाई निषेध गर्ने प्रवृत्ति देखिएको प्रचण्डको विश्लेषण छ । आँखा चिम्लेर मलाई समर्थन गर अन्यथा निषेध हुन र निरंकुशता सामना गर्न तयार होउ । बहुमतको निर्णय म मान्दिनँ, मेरो निर्णय बहुमतले मान्नु पर्ने मान्यता रहेको प्रचण्डको ठहर छ ।

ओली ‘भ्रष्टाचारीका संरक्षक’
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले बारम्बार भन्दै आउनुभएको छ– भ्र भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ । तर स्वयं सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई ओलीको दावीमा विश्वास छैन । त्यसैले ओलीमाथि भ्रष्टाचारीलाई संरक्षण गरेको भनेर प्रचण्डले हमला गर्नुभएको छ । वाइड बडी विमान खरीद, सुरक्षण छापाखाना खरीद र सञ्चारमन्त्रीको टेप प्रकरण, यति होल्डिङ्गसँगको अपारदर्शी र शंकास्पद कारोबार, चिनी आयात घोटाला, कोरोना संक्रमणको नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरीदमा ओम्नी समूहको साँठगाँठ र अनियमिता, बजेट सार्वजनिक गर्नुअघि अति गोप्य राख्नुपर्ने राजश्वका दररेट परिवर्तनलाई चुहाएर विद्युताबाट चल्ने गाडी र चकलेट आयातमा अनियमितता जस्ता प्रकरण सार्वजनिक भएको र त्यसमा मुछिएकाहरुको प्रतिरक्षा गरेर ओलीले भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण गरेको प्रचण्डको गम्भीर आरोप छ । प्रचण्ड प्रस्तावमा लेख्नुहुन्छ– स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको घटनाले नेपालको शीर झुकेको छ ।

ओली ‘नक्कली राष्ट्रवादी’
प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई सबैभन्दा राष्ट्रवादी दावी गर्दै आउनुभएको छ । खासगरी भारतीय नाकाबन्दीको प्रतिवाद गरेपछि उहाँको राष्ट्रवादी छवि बलियो बनेको पनि हो । तर यसमा पनि प्रचण्डले गम्भीर प्रश्न उठाउनुभएको छ । भारतीय गुप्तचर संस्था रअका प्रमुखसँगको समकक्षीका रुपमा भेटेर नेपाल र नेपालीको राष्ट्रिय स्वाभीमान माथि गम्भीर आघात पुर्याउने काम गरेको प्रचण्डको आरोप छ ।

ओलीको अपारदर्शी अमर्यादित व्यवहारले उहाँको राष्ट्रवाद नक्कली भएको सन्देश जनतामा गएको प्रचण्डको प्रस्तावमा उल्लेख छ । ओलीले नेपालको ईतिहासमै कूटनैतिक मूल्य मान्यता र प्रोटोकल विपरीत काम गरेको प्रचण्डको आरोप छ । ओलीले राष्ट्रियताको पक्षमा उठेका आवाजलाई खिसीट्युरी गर्ने र हतोत्साही तुल्याउने काम गरेको समेत प्रचण्डको जिकिर छ ।

ओलीले एमसीसीबारे ‘गुमराहमा राखे’
अमेरिकी सहयोग परियोजना एमसीसीबारे सत्तारुढ नेकपमा विवाद छ र यही विवादका कारण यो अघि बढ्न सकेको छैन । तर एमसीसीबारे ओलीले पार्टीलाई गुमराहमा राखेको प्रचण्डको आरोप छ ।

एमसीसीबारे पहिलेको सम्झौताभन्दा राष्ट्रिय हित र स्वाधीनतामा आँच पुग्नेगरी पार्टीबाट गोप्य राखेर कार्यान्वयन सम्झौता गरेको, सम्झौताले मूल सम्झौताका कतिपय प्रावधानलाई समेत परिवर्तन गरेको, संसदमा अनुमोदनका लागि विचाराधीन सम्झौताबारे निर्णय नहुँदै सम्झौताका प्रावधानमा संशोधनका लागि अर्थमन्त्रीद्वारा एमसीसीसँग गोप्यरुपमा पत्राचार गरेको र यो सबै ओलीले गरेको प्रचण्डको प्रस्तावमा उल्लेख छ ।

यस्तै सल्लाह नै नगरी बजेटमा समावेश गरिएको र पार्टीभित्र छलफल नै नगरी सम्झौता अगाडि बढाउन सरकार तयार रहेको र हाल काम स्थगित रहेको भन्ने पत्र अमेरिकी सरकारलाई पठाइएको भन्दै प्रचण्डले आपत्ति जनाउनुभएको छ । ओलीका यी काम राष्ट्रिय हित र सुरक्षाप्रति गैरजिम्मेवार रहेको प्रवृत्तिको द्योतक भएको प्रचण्डको दावी छ ।

ओली ‘दलाल नोकरशाही पूँजीवादको पृष्ठपोषक’
सत्तारुढ नेकपाले आफूलाई समाजवादी भन्छ तर ओली समाजवादी नभएको प्रचण्डको आरोप छ । बरु ओलीले दलाल र नोकरशाही पूँजीवादलाई प्रोत्साहित गर्ने नव–उदारवादी पूँजीवादलाई नै पच्छ्याएको प्रचण्डले प्रस्तावमा लेख्नुभएको छ । प्रचण्ड प्रस्तावमा लेख्नुहुन्छ–उहाँले न कहिल्यै समाजवादको कुरा गर्नुहुन्छ न समाजवाद उन्मुख जनताको जनवादको न कहिल्यै समाजवादी आर्थिक, राजनैतिक, सांस्कृति नीति बारे चर्चा गर्नुहुन्छ, न सरकारका तर्फबाट समाजवाद उन्मुख कुनै ठोस कार्यक्रम अगाडि सार्नु भएको छ । व्यवहारतः उहाँले दलाल र नोकरशाही पूँजीवादलाई प्रोत्साहित गर्ने नव–उदारवादी पूँजीवादलाई नै पच्छ्याइरहनु भएको छ ।

ओली सरकार ‘पूर्ण रुपमा असफल’
प्रचण्डको निष्कर्ष छ–सरकार संचालनमा ओली पूर्ण रुपमा असफल हुनुभएको छ । नेपाली जनताले झण्डै दुई तिहाई मत दिएर बनेको सरकार कमजोर, अनुत्तरदायी र अयोग्य रहेको एवम् कानूनी शासनको मान्यताबाट विचलित हुन थालेको सन्देश जनतामा गएको भन्दै प्रचण्डले जनतामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राजनीतिक प्रणालीप्रति नै वितृष्णा उत्पन्न हुनसक्ने खतरा उत्पन्न भएको दावी गर्नुभएको छ । ओलीमाथि प्रचण्डका यी आरोपले नेकपाभित्र मतभेद थप चर्काउने निश्चित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्